धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रको बेतिथिले प्रतिष्ठान बन्द हुने अवस्थामा पुगेको छ । झण्डै एक अर्ब घाटामा चलेको प्रतिष्ठानलाई आफ्ना कर्मचारीलाई तलब खुवाउन धौधौ परिरहेको छ । प्रतिष्ठान यति धेरै घाटामा जानुमा यसअघिका उपकुलपतिहरू दोषी देखिन्छन् ।
प्रतिष्ठानको पूर्वउपकुलपतिहरु प्राडा आरके रौनियार, प्राडा वलभद्र दास र डा ज्ञानेन्द्र कार्कीले गरेको भ्रष्टाचारको कारण प्रतिष्ठान डुबेको हो । उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा नै चालाएको थियो । मुद्दा चलाएकामध्ये प्राडा रौनियारलाई अदालतले सफाइ दिएको थियो ।
तर, पुनः पदबहाली नहुँदै उनको मृत्यु भएको थियो । रौनियारअघिका भीसी भएका प्राडा वलभद्र दासले १५ करोडभन्दा वढी रकमको भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । अख्तियारले प्रतिष्ठानका तत्कालीन उपकुलपति दाससहित आठ जनाविरुद्ध विशेष अदालतमा २०७६ असार ३० गते मुद्दा दायर गरिएको थियो ।
मुद्दा परेका आठ जनामा दाससहित तत्कालीन रजिष्टार नन्दकुमार राना, तुलबहादुर श्रेष्ठ, डिपुटी रजिष्टार अमित श्री वास्तव, अस्पताल निर्देशक डा अरविन्द सिंह, लेखापाल दिनेशराज दाहाल, व्यापारी चेतन अग्रवाल र उमेश अग्रवाल रहेका थिए । लामो समयसम्म तामेलीमा रहेको सो मुद्दा चार वर्षपछि गत जेठ १८ गते अदालतले फैसला सुनाएको थियो ।
उक्त फैसलाले दास, रजिष्टार राना र निर्देशक सिंहलाई ९६ हजार जरिवाना र एक वर्ष कैद सजाय सुनाएको थियो । अन्य अभियुक्तहरूलाई भने सफाइ दिएको छ । १८ करोड बिगोमा तीन जनालाई ९६ हजार जरिवाना गराएर अरु अभियुक्तलाई सफाइ दिनुमा ठूलो आर्थिक चलखेल भएको कर्मचारीहरू नै बताउँछन् ।
यो मुद्दामा ठूलो चलखेल गर्ने तत्कालीन रजिष्टार श्रेष्ठले सफाइ पाएका छन् । तर, रजिष्टार नन्दकुमार राना मगरलाई भने एक वर्ष कैदको फैसला सुनाइएको छ । उक्त मुद्दामा न्यायाधीश वालेन्द्र रुपाखेती, शान्तिसिंह थापा र चन्द्रवहादुर सारुले हेर्दै आएका छन् । विशेष अदालतको फैसलापछि तीन जना दोषीहरूले पुनः सर्वोच्चमा रिट निवेदन दिएर दास र सिंह प्रतिष्ठानकै भीआईपी क्वाटरमा कसिरहेका छन् ।
प्राडा दासलाई रजिष्टार सुर्यप्रसाद संग्रौलाको संरक्षण विशेष अदालतले भ्रष्टाचारी ठहर गरी कैद जरिवाना तोकिसकेको छ । सजय तोकेको महिनौँ बित्दा पनि प्रतिष्ठानको भीआईपी क्वाटरमा रहेका दास र सिंहलाई प्रतिष्ठानले निकाल्न सकेको छैन । क्वाटरको अभावमा धेरै डाक्टर कर्मचारीहरू बाहिर डेरामा वस्नुपर्ने बाध्यता रहेको छ ।
दास र निर्देशक सिंह प्रतिष्ठानमै रहनुको पछाडि अहिलेका रजिष्टार सुर्यप्रसाद संग्रौलाको संलग्नता रहेको कर्मचारीहरू बताउँछन् । यसअघिका उपकुलपति स्वर्गिय रौनियारको परिवारलाई ढिलो क्वाटर छाडेको भन्दै साढे तिन लाख जरिवाना तिराइएको थियो । यसैगरी पूर्वरजिष्टार मोहनराज रेग्मीलाई पनि क्वाटर ढिलो छाडेको भन्दै जरिवाना गरिएको थियो ।
दास र सिंहलाई किन संरक्षण दिएको भन्ने प्रश्नमा रजिष्टार संग्रौलाले शुरुमा आफूलाई अदालतको मिसिल नै प्राप्त नभएको भन्दै गैरजिम्मेवार जवाफ दिन्छन् । पत्र ढिला आएको तर पत्र नै कार्यालयबाट गायब भएको उनी बताउँछन् । रजिष्ट्रारले लेखेको पत्र कार्यालयबाटै गायब हुन्छ भने प्रतिष्ठानभित्र कतिसम्मको कर्मचारीतन्त्रमा छ भन्ने प्रस्ट हुन्छ ।
दास निलम्वन भए पनि प्रतिष्ठानभित्रै बसेर कर्मचारी, ठेकदारहरूबीच लेनदेन गराउने, पदाधिकारीहरूलाई धम्क्याउने गर्दै आएको त्यहाँ कर्मचारीहरू बताउँछन् । यसअघि पनि दासलाई क्वाटरमा निकाल्न सीडीयो लाग्नु परेको थियो । यसले पनि पाँच वर्षे कार्यकालमा दासले कति पदको दुरुपयोग गरेका थिए भन्ने पुष्टि हुन्छ ।
सीडीयोबाट पत्र पाएपछि २०७५ भाद्र २५ गते प्रतिष्ठानकै १५५ नम्बरको प्रोफेसर क्वाटरमा सरेका दासले भीआइपी क्वाटरको फर्निचर, ल्यापटप, मोबाइल, कडलेस लगायत थुप्रै सामानहरू भने अझै नबुझाई गायब पारेको कर्मचारीहरूको आरोप छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । धरान