सूचनाको शक्ति - The Power Of Information

        

एसपीको तस्करी धन्दाले डिआइजीलाई तनाब

राजस्व अनुसन्धान कार्यालय इटहरीले शनिबार बिहान सिराहा नगरपालिका १५ सुखचैनाबाट झन्डै ५० लाख रुपैयाँ बराबरको तस्करीको कपडा बरामद गर्याे । सशस्त्र प्रहरीका एसपी प्रमोद भारतीले छाडेको कपडा राजश्वले बरामद गरेको हो ।

गत माघमा सिराह पुगेका एसपी भारतीले भारतीय सहर जयनगरबाट तस्करी गरी ल्याएको कपडालाई छाडिदिएका थिए । शनिवार सर्टिङ सुटिङका कपडा, सारी, तयारी पोसाक लगायतका सामान बरामद भएको थियो । सीमामा ठूलो परिमाणमा कपडा संकलन गररे काठमाडौं ल्याउने तयारी भएको सूचनाका आधारमा कपडा बरामद गरिएको हो ।

खुला नाका भएकाले दसैंलाई लक्षित गरेर चोरीपैठारीबाट कपडा संकलन गरेर व्यापारीले ट्रकमा राख्ने तयारी गरेका बेला बरामद भएको हो । केही सामान भने बरामद हुनुअगावै ट्रकमा लोड गरेर अन्यत्र लानसमेत उनै एसपी भारती सहयोगी बनेका थिए ।

उनकै सहयोगमा बिहारमा मदिरा प्रतिबन्ध लगाइएपछि नेपालबाट मदिरा तस्करी गरी पठाउन सहजीकरण भएको थियो । सिरहामा सबैभन्दा बढी कजरा जिझौल, बरियारपट्टी र नरगी नाकाबाट मदिरा वारपार गराउन उनले घुमुवा नै परिचालन गराएका थिए ।

विभिन्न वस्तुको गैरकानुनी निकासी गर्नेहरुले स्थानीय सुरक्षा प्रमुख वा सीमा क्षेत्रका सुरक्षा कमान्डरसित लाइन मिलाएरै तस्करी गर्ने गरेकाले सुरक्षाकर्मीको ध्यान तस्करभन्दा दैनिक उपभोग्य सामग्री ल्याउनेमाथि मात्र पर्ने गरेको छ ।

त्यसको एक साता अघि मात्रै सिराहाको ठाँडी भन्सारबाट प्याज बोकेको ट्रकमा तस्करीका कपडा भए पनि प्याजकै नाममा भन्सार पास गराई चितवनतर्फ जान दिइएको थियो । सो ट्रकलाई सुराकीका आधारमा मकवानपुरको हेटौँडामा चेकचाँज गर्ने क्रममा डेढ करोडभन्दा बढीको सर्टिङ–सुटिङका कपडा, सारी, तयारी पोसाक राखिएको फेला परेको थियो ।

अगाडितिर प्याज र पछाडितिर लत्ताकपडा राखेर तस्करी गरिएको थियो । मधेश प्रदेश बाहिनी बर्दिबासका डीआईजी दीपेन्द्र शाह रहेका छन् । सशस्त्र प्रहरीको नेतृत्व लिने गरी अघि बढेका शाहकै प्रदेशमा बसेर सिरहाका एसपी प्रमोद भारतीले तस्करीको लाइन खुलाएपछि उनी तनावमा परेका छन् ।

शनिवार बरामद कपडा ब्यापारी दिनेश चौधरीको भएको स्रोतले बताएको छ । चौधरी स्थानीय ब्यापारी भए पनि लगानीकर्ता र काठमाडौंमा ब्यवस्थापनको काम भने एसपी भारतीका आफन्तले गर्ने गरेको स्रोतको दाबी छ ।

प्रमोद भारती सिरहाको एसपी भएदेखि नै माडर, ठाडी नाकाबाट ब्यापकरुपमा तस्करी हुँदै आएको थियो । जसका कारण करोडौं भन्सार राजस्व अपचलन हुँदैआएकाले डिआइजी शाहले उनलाई कारवाही गर्ने तयारी गरेका छन् ।

यसअघि सिराहाको बीच बजारमा तस्करीको सामान लोड भएर आएको गाडी नै पल्टेको थियो । गत वैशाखमा तस्करीका ओभरलोड सामानसहित सिरहाको नरहा चोहर्वास्थित सडकमा गाडी अनियन्त्रित दुर्घटना हुँदा तीन जना घाइते भएका थिए ।

नरहा गाउँपालिका ३ खोरीयाटोल नजिक सिरहाबाट चोहर्वातर्फ आइरहेको ज १ ज २९९ नम्बर सेतो म्याजिक दुर्घटना हुँदा कर्जन्हा नगरपालिका ३ बन्दीपुरका ५१ वर्षीय शिवसती यादव, २२ वर्षीय पिन्का यादव, ६० वर्षीय भोला यादव र सिरहाको खिरौनाका ४० वर्षीया सरितादेवी साह घाइते भएका थिए । त्यसबेला नेपाल प्रहरीले सो सामान भन्सार विभागलाई बुझाइदिएको थियो ।

स्रोत : दृष्टिन्यूज
प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार २३:३८

लोकप्रिय