सूचनाको शक्ति - The Power Of Information

        

अनमोल केसीलाई आज अदालतमा उपस्थित गराइँदै

फिल्म ‘रावायण’को लेनदेन विवादमा पक्राउ परेका अभिनेता अनमोल केसीलाई प्रहरीले आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउँदैछ । म्याद थपका लागि अहिले केहीबेरमा केसीलाई उपस्थित गराउन लागिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी कुमोद ढुंगेलले बताए ।

आपराधिक विश्वासघात गरेको आरोपमा सुदर्शन थापा प्रोडक्सन नामक फिल्म कम्पनीले अभिनेता केसीविरुद्ध प्रहरीमा उजुरी दिएको थियो । केसीलाई भक्तपुरको साँगाबाट शुक्रबार बेलुका प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउपछि स्वास्थ्यमा समस्या देखिएको भन्दै केसी चिरायु अस्पतालमा भर्ना भएका थिए । पक्राउविरुद्ध केसीले केही दिनअघि उच्च अदालत, पाटनबाट निषेधाज्ञाको आदेश पनि लिएका थिए ।

देवानी कसुरमा पक्राउ नगर्नु भन्ने आदेश लिए पनि फौजदारी कसुरमा उनीविरुद्ध पक्राउ अनुमति जारी भएको हुनाले मुद्दा अनुसन्धानमा असर नपर्ने प्रहरीको भनाइ छ । तर केसीका वकिल परशुराम कोइरालाले चाहिं उच्च अदालतको आदेश आइसकेकाले हिरासतमा राख्न उचित नभएको बताए ।

रावायण फिल्मका निर्माताले अभिनेता केसीले १० लाख रुपैयाँ लिएर पनि फिल्म खेल्न नमानेको बताएका छन् । तर केसीले चाहिं आफूले पैसा लिए पनि लिखित सहमति नगरेको बताइसकेका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतवार ०८:२८

लोकप्रिय