बालकको मृत्यु भएको विषयलाई लिएर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर विहानैदेखि तनावग्रस्त बनेको छ ।
शुक्रबार र शनिबार छुट्टा–छुट्टै दुई घटनामा दुई बालकको मृत्यु भएपछि आफन्तले वीरेन्द्रनगरको एरिचोकमा आइतबार बिहानैदेखि आन्दोलन जारी राखेका छन् ।
दुवै बालकका आफन्तले संयुक्त रूपमा आन्दोलन गरेका छन् । जसका कारण वीरेन्द्रनगरको मंगलगढी र एरिचोक परिसर आइतबार बिहानैदेखि तनावग्रस्त बनेको हो ।
वीरेन्द्रनगर– ३, गोकुल कटेज नजिकै मोटरसाइकलको ठक्करबाट दैलेखको आठबीस नगरपालिका–६ खिड्कीज्यूला घर भएका पाँच वर्षीय बालक दिग्दर्शन पुरीको शनिबार बिहान मृत्यु भएको थियो ।
त्यस्तै नगरपालिका–६ घण्टाघर नजिक रहेको उषा बालवाटिका सेकेण्डरी स्कुलको होस्टेलमा ८ वर्षीय सलाम पुलामी मगर मृत भेटिएका थिए । उनी दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–१ का हुन् ।
शुक्रबार वीरेन्द्रनगर होस्टेलमै शङ्कास्पद मृत्यु भएका उनका आफन्त र मोटरसाइकलको ठक्करबाट मृत्यु भएका पुरीका आफन्तहरू घटनाको छानबिन र क्षतिपुर्तिको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । जसले गर्दा दुई दिनदेखि वीरेन्द्रनगर तनावग्रस्त छ ।
उषा बालवाटिकामा आन्दोलनकारीले शनिबार आगजनी गरेका थिए । आफन्तहरूले घटना शङ्कास्पद रहेको भन्दै शव उठाउन दिएका थिएनन् । भीडलाई साम्य पार्न प्रहरीले अश्रु ग्याँससमेत प्रहार गरेको थियो ।
मोटरसाइकलले ठक्कर दिएको घटनामा अहिलेसम्म पनि चालक फरार छन् । घटेको २४ घण्टा पुगे पनि प्रहरीले चालकलाई पक्राउ गर्न नसकेको भन्दै आफन्तहरु आन्दोलित भएका छन् ।
मृतक बालकका आफन्तहरुले वीरेन्द्रनगरका चोक–चोकमा टायर बाल्नेदेखि नाराबाजी गरिरहेका छन् । कर्णाली राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् । शनिबार दिनभर तनावग्रस्त बनेको वीरेन्द्रनगर आइतबार पनि तनावग्रस्त बनेको छ ।
आन्दोलनलाई सहज बनाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मण शाहीले बताए । ‘हामी आन्दोलन सहज बनाउने प्रयास गरिरहेका छौँ । दुवै घटनाको अनुसन्धान भइरहेको छ’ उनले भने ।
उषा बाल वाटिकामा मृृत भेटिएका बालकको शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल लगिएको छ । घटनाको विषयमा सत्य तथ्य पत्ता लगाउने प्रयास भइरहेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायण सापकोटाले बताए ।
‘मोटरसाइकल चालकको खोजी कार्य भइरहेको छ । उहाँहरू आन्दोलन गर्नुहुन्छ । अनुसन्धान गर्ने काम भइरहेको छ’, प्रजिअ सापकोटाले भने ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । सुर्खेत