सूचनाको शक्ति - The Power Of Information

        

विवेक ओझाको ऐँठनलाई मदन पुरस्कार, टेकवीर मुखियालाई जगदम्बा श्री

 २०७९ सालको मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठनले पाएको छ ।

आज बसेको मदन पुरस्कार गुठीको बैठकले ऐँठनलाई मदन पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो ।

यसैगरी जगदम्बा श्री पुरस्कार टेकवीर मुखियालाई दिने निर्णय भएको छ ।मदन पुरस्कार र जगदम्बा श्री दुवैको पुरस्कारको राशी चार लाख रुपैयाँ छ ।

ऐँठनमा माओवादी सशस्त्र आन्दोलनको बेला नेपाली समाजले भोगेको विषयवस्तु छ । ऐँठन विवेकको दोस्रो कृति हो । यसअघि उनले ऐलानी उपन्यास बजारमा ल्याएका थिए ।

‘मदन पुरस्कार’ एक वर्षभित्र नेपाली भाषामा निस्किएका उत्कृष्ट कृतिहरूमध्ये एक कृतिलाई प्रदान गरिने पुरस्कार हो । यो पुरस्कारका लागि अन्तिम सूचीमा परेका उत्कृष्ट पाँच पुस्तकहरुमध्येबाट ऐँठन छनोट भएको हो ।

उत्कृष्ट पाँच पुस्तकको सूचीमा ऐँठनसहित सुविन भट्टराईको इजोरिया, द्वारिकनाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर थिए ।

२०७८ को मदन पुरस्कार नवराज लम्सालको अग्नि र जगदम्बा श्री पुरस्कार दुर्गाप्रसाद श्रेष्ठले पाएका थिए ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतवार ०६:०३

लोकप्रिय