सूचनाको शक्ति - The Power Of Information

        

दुई महिनामा दुई अर्ब ७६ करोडको चामल आयात

चालु आर्थिक वर्षको दुई (साउन र भदौ) महिनामा नौ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको दुई महिनामा खाद्यान्न आयात २२.८१ प्रतिशतले बढेर नौ अर्ब ३१ करोड ३८ लाख आठ हजार रुपैयाँ बराबरको आयात भएको हो ।

गत वर्ष सो अवधिमा सात अर्ब ५८ करोड १२ लाख ५७ हजार रुपैयाँ बराबरको खाद्यान्न आयात भएको थियो । दुई महिनामा सबैभन्दा धेरै दुई अर्ब ७६ करोड २१ लाख छ हजार रुपैयाँ बराबरको दुई लाख ५३ लाख हजार ३२२ क्वीन्टल चामल आयात भएको छ । एक अर्ब ६४ करोड ५८ लाख १९ हजार रुपैयाँ बराबरको चार लाख ६२ हजार ५८४ क्वीन्टल मकै आयात भएको तथ्याङ्क छ ।

यस्तै दुई अर्ब ९० करोड ७९ लाख ३६ हजार रुपैयाँ बराबरको सात लाख ८९ हजार ८३९ क्वीन्टल धान आयात भएको विभागको तथ्याङ्क छ । यस्तै ५१ करोड ६५ लाख तीन हजार रुपैयाँ बराबरको एक लाख २६ हजार ८२२ क्वीन्टल गहुँ आयात भएको छ । यस्तै २७ लाख ५० हजार रुपैयाँको जौ, १५ करोड १३ लाख ८१ हजार रुपैयाँको कोदो आयात भएको छ । खाद्यान्नको आयात बढे पनि अन्य वस्तुको आयात भने घटेको छ ।

दुई महिनाको अवधिमा कच्चा भटमास तेलको आयातमा ६७.४ प्रतिशतले कमी आई दुई अर्ब ९६ करोडमा झरेको छ । यस्तै औषधीको आयातमा ३३.९७ प्रतिशतले ह्रास आई छ अर्ब ७१ करोड रुपैयाँमा झरेको छ । कच्चा पाम तेलको आयातमा ६५ प्रतिशतले ह्रास आई दुई अर्ब ३१ करोड रुपैयाँ सीमित भएको तथ्याङ्क छ । सुनको आयातमा १६.१२ प्रतिशतले ह्रास आई चार अर्ब ५६ करोड रुपैयाँको आयात भएको विभागको तथ्याङ्क छ ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतवार ०१:४२

लोकप्रिय