सूचनाको शक्ति - The Power Of Information

        

काम मेयरको घरमा, तलब उपमहानगरबाट !

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्कालाई धेरैले सुकुम्बासी नगरप्रमुखका रूपमा चिन्छन् । उनको परिचय यतिमा मात्रै सीमित छैन । उनलाई धेरैले सादगी नेताको रूपमा लिने गरेका छन् ।

उनको यहीँ परिचय नै चुनाव जित्नुको कारण बनेको थियो । गत वर्ष निर्वाचनकै समयमा रोटी पकाउँदै गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमै पोस्ट गरिएपछि उनको जीवनशैलीबारे धेरैले प्रशंसा गरेका थिए ।

उनको जीवनशैलीबाट प्रभावित भएर धेरैले मेयर खड्कालाई ऊर्जावान् व्यक्तिको रूपमा रहेको प्रतिक्रिया दिए । तर, निर्वाचनपछि उनी निर्वाचन अघिभन्दा उल्टो लयमा देखिएका छन् । सत्ता र शक्तिमा पुगेपछि जसरी पनि राज्यको सम्पत्ति दुरुपयोग गर्नुपर्छ भन्ने मानसिकता उनमा हाबी भएको छ ।

नगरप्रमुख खड्काले राज्यकै रकम खर्च गरेर कर्मचारीलाई घरको व्यक्तिगत काममा लगाएका छन् । दोस्रो स्थानीय तहको निर्वाचन २०७९ मा सुकुम्बासीको नारा र सर्वहारा वर्गको काम गर्ने भन्दै चुनाव जितेका नगरप्रमुख खड्काले आफ्नो घर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ को अक्कासीमा उपमहानगरकै खर्चमा घरायसी प्रयोजनका लागि कर्मचारी राखेका छन् ।

नगरप्रमुखले आफ्नो घरमा भान्साको लागि कर्मचारी राखेको भन्ने गुनासो प्राप्त भएपछि अनुसन्धानको क्रममा नगरकै तलबमा नगरप्रमुख खड्काको घरमा व्यक्तिगत काममा कर्मचारीलाई राखिएको खुलेको हो । ती कर्मचारीले उपमहानगरबाट मासिक १५ हजार तलब बुझ्ने गरेका छन् ।

यतिसम्मकि उनलाई महिनामा एक पटक उपमहानगरमा आएर रजिस्ट्ररमा महिनाभरकै हाजिर गर्न लगाउने सुविधा उपलब्ध गराइएको छ । उपमहानगरमा सबै कर्मचारीलाई ई–हाजिरीको व्यवस्था गरे पनि उनको लागि छुट्टै सुविधाको व्यवस्था गरेको प्रमाण फेला परेको छ । ती कर्मचारी नगरप्रमुखको नजिकको नातेदार भएकाले निर्वाचित भए लगत्तैबाट उनलाई घरमा भान्सेको रूपमा राखिएको हो ।

नगरप्रमुखको निजी निवास टाढा भएको अवस्थामा मात्र सरकारी आवासीय सुविधा लिएको खण्डमा यस्तो कर्मचारी राख्न सकिन्छ । तर नियमविपरीत नगरप्रमुख खड्काले आफ्नो घरायसी भान्सामा उपमहानगरबाट तलब भुक्तान गरेर कर्मचारी राखेको पाइएको हो । राज्यको ढुकुटीबाट तलब भुक्तानी भएपछि कुनै पनि कर्मचारीले कार्यालय समयमा नगरप्रमुखको व्यक्तिगत काम गर्न पाइँदैन ।

२०७९ वैशाख ३० गते भएको स्थानीय तहको दोस्रो निर्वाचनमा नगरप्रमुख खड्काले आफू निर्वाचित भएलगत्तै आफ्ना नातेदारलाई भान्सेको रूपमा राखेको पाइएको हो । उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले वास्तविकता लुकाउन आफूलाई यो विषय जानकारीमा नआएको उल्लेख गरे ।

उनले आफू उपमहानगरमा केही समय अघिमात्र आएका कारण आफू यस बारेमा बेखबर भएको दाबी गरे । उनले उपमहानगरपालिकाबाट तलब भुक्तानी भएपछि कार्यालय समयमा उपमहानगरकै काम गर्नुपर्ने पनि बताए । ‘जे भए पनि मेयर हिसाबकिताबमा क्लियर हुनुहुन्छ, मैले यस्तो क्लिन मेयर त नेपालमै देखेको थिइनँ,’ उनले भने, ‘तर अहिलेको बारेमा मलाई थाहा भएन ।’

प्रमुख प्रशासकीय अधिकृत केसी यसबारे थप जानकारी लिने भनेर उम्कन खोजेका छन् । ‘म केही समय अघिमात्र तुलसीपुर आएको हुँ, मलाई यसबारेमा केही जानकारी थिएन,’ उनले भने, ‘वास्तविक कुरा के रहेछ म बुझ्छु र यो विषयको समस्या समाधान गर्नेछु ।’ जबकि प्रमुख प्रशासकीय अधिकृतको अनुमतिबिना कुनै पनि कर्मचारीलाई तलब भुक्तानी गर्न नमिल्ने प्रावधान छ ।

त्यसैमा नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा निजी काम गराएर तलब भुक्तानी भइरहेको छ । एकातर्फ उपमहानगरमा विद्युतीय हाजिरीमार्फत मासिक तलब भुक्तानी हुन्छ । तर उपमहानगरले भने यसरी भर्ना गरिएका कर्मचारीलाई रजिस्टरमा हाजिरी गराएर तलब भुक्तानी गर्दै आएको छ ।

स्रोत : अन्नपूर्ण पोष्ट
प्रकाशित मिति : १४ आश्विन २०८०, आइतवार ०१:२३

लोकप्रिय