सूचनाको शक्ति - The Power Of Information

        

आजदेखि शुरु भयो पितृपक्ष अर्थात् सोह्र श्राद्ध

आजदेखि पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । सनातन धर्मावलम्बीले आश्विन कृष्ण पक्षलाई पितृपक्षका रूपमा मनाउँछन् ।

औँसी अर्थात् पर्वमा गरिने श्राद्धको स्वरूप भएकाले यसलाई पार्वण श्राद्ध पनि भनिन्छ । आमाबाबु नहुनेले यो पक्षभरि नियममा बस्ने र पितृमध्ये एकको तिथिलाई आधार मानेर श्राद्ध गर्छन् । तिथिमै गर्न नसके अन्तिम दिन औँसीमा श्राद्ध गर्ने परम्परा छ ।

यो पक्षका १५ दिनमा अघिल्लो वा पछिल्लो पक्षको एक तिथिसमेत समावेश गरी सोह्र तिथिमा श्राद्ध गरिने भएकाले सोह्र श्राद्ध भनिएको धर्मशास्त्री डा.रामचन्द्र गौतमले बताए । भाद्रशुक्ल पूर्णिमादेखि आश्विनकृष्ण औंसी वा आश्विनकृष्ण प्रतिपदादेखि आश्विनशुक्ल प्रतिपदासम्मका तिथिलाई लिएर सोह्र दिन पुर्याइन्छ ।

यी १६ तिथिमध्ये आफ्ना पितृ दिवंगत भएको एक तिथिमा श्राद्ध गर्ने परम्परा छ । मृत्यु भएको तिथिमा गरिने वार्षिक श्राद्धमा एक जनालाई मात्र पिण्ड दिइन्छ भने सोह्रश्राद्धमा पिता (बुबा) तर्फका तीन र माता(आमा) तर्फका तीन पुस्तालाई सम्झिइन्छ ।

यो पक्षमा गरिने श्राद्ध अपराह्नमा गर्नुपर्ने विधान छ । पञ्चांग निर्णायक विकास समितिबाट स्वीकृतिप्राप्त पात्रोमा शनिबार प्रतिपदा तिथि २० घडी ८ पला अर्थात् दिउँसो १ बजेर ५९ मिनेटसम्म छ । पञ्चांगअनुसार प्रतिपदा र द्वितीयाका श्राद्ध एकैदिन परेको छ ।

तिथि घटबबढ हुँदा प्रतिपदा र द्वितीया श्राद्ध एकैदिन परेको समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले बताए । सोह्रश्राद्ध लागेसँगै काठमाडौंको वागमती, गोकर्णेश्वर र शंखमूल, चितवनको देवघाट, नुवाकोटको वेत्रावती लगायत नदी किनारमा श्राद्ध, तर्पण गर्नेको घुइँचो लाग्छ । सोह्रश्राद्ध असोज २७ गते शनिबार नै पूरा हुनेछ ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार ०९:२६

लोकप्रिय