नेपालमा यस वर्षको मनसुन बाहिरिन केही दिन ढिलो हुने भएको छ । नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख रहे पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन ढिलो बाहिरिने देखिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले शुक्रबार विशेष मौसम बुलेटिन निकालेर हाल बङ्गालको खाडीको उत्तर–पश्चिम भागमा विकास भइरहेको न्यूनचापीय प्रभावले मनसुन बहिर्गमन ढिलो हुने प्रक्षेपण गरेको हो । महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले मनसुन बाहिरिने मिति अक्टोबर २ भए पनि वर्षा गराउने प्रणाली (न्यूनचापीय क्षेत्र)को विकास भएकाले अबको केही दिन बदली र वर्षाको सम्भावना रहेको बताए ।
‘भारतको पश्चिमी भू–भागबाट मनसुन बर्हिगमनको प्रक्रिया सुरू भइसकेको छ । तर, अहिले बङ्गालको खाडीमा न्यूनचापीय क्षेत्र बनेको र त्यो अझै शक्तिशाली हुँदै उत्तर–पश्चिमतिर सर्ने क्रममा रहेकाले नेपालबाट मनसुन बाहिरिन समय लाग्ने देखिन्छ,’ उनले भने । मौसमविद् अधिकारीका अनुसार अहिले देशको पूर्वी क्षेत्रबाट न्यूनचापीय क्षेत्रको विकास भइरहेकाले अबको दुई–चार दिन देशका कतिपय स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ ।
उनले भने, ‘पूर्वमा विकसित न्यूनचापीय प्रणाली देशको पश्चिम र सुदूरपश्चिमसम्म प्रभाव नरहन सक्छ । पूर्वी र मध्य भेगमा धेरै पानी पर्ने सम्भावना देखिन्छ ।’ यो वर्ष दशैं ढिलो भएकाले पनि किसानले बाली भित्र्याउने तरखरमा छन् । यो बेला मनसुनको प्रभाव बढी कृषि र यातायात क्षेत्रमा पर्नसक्ने भएकाले सम्बन्धित निकायलाई सतर्कता गराउन अनुरोध गरिएको महाशाखाले जनाएको छ ।
नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । देशको पूर्वी भेग भएर मनसुन देशभर फैलिन्छ । यस्तै मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख अर्थात् यो वर्ष असोज १५ गते भए पनि मनसुन ढिलोगरी बाहिरिने अनुमान गरिएको छ । यसवर्ष सरदर मितिभन्दा एक दिन ढिलो अर्थात् जुन १४ तारिख (जेठ ३१ गते) मनसुन नेपाल भित्रिएको थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं