सूचनाको शक्ति - The Power Of Information

        

समयको आवाज

आफ्नो जिम्मेवारीबाट कहिल्यै नडग्मगाउन् बालेन !

स्मरण रहोस्, जनता र कानुनको हितविपरीत जो जान्छ, त्यो सिद्धिन्छ । कानुनभन्दा कुट्छु, गुण्डा लगाउछु भन्नु कतिसम्म लाजमर्दो कुरा हो ।

अन्य पालिकाका जनप्रतिनिधिले गाली खाइरहँदा काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र शाह ‘बालेन’ मात्रै त्यस्ता जनप्रतिनिधि हुन्, जसको चर्चा मुलुकभर नै छ । काठमाडौंबासीको मात्र नभई मुलुकभरका आम नागरिकले उनलाई रुचाएका छन् । उनले विगत एक वर्षमा गरेका काम प्रंशसायोग्य छ । काठमाडौंलाई व्यवस्थित शहर बनाउन लागेका बालेनको राष्ट्रमा मात्र नभई अन्तर्राष्ट्रिय रुपमा चर्चित छन् । बालेनले गरेका सबै काम जनता र राष्ट्रहितमा छ । सर्वप्रथम त उनले फुटपाथ व्यवसायी हटाए । पैदलयात्री हिँड्ने बाटो ढाँकेर व्यापार व्यवसाय गर्नेलाई उनले हटाएरै छाडे । जुन विगतका कुनै पनि मेयरले गर्न सकेका थिएनन् ।

त्यस्तै, उनी आएपछि महानगरपालिकामा राजश्व संकलनको दर ह्वात्तै बढेको छ । वर्षौंदेखि राजश्व छल्दै आएका व्यवसायीलाई उनले करको दायरामा ल्याए । नक्सा पास नगरिकन घर बनाउने, तला थप्नेहरुका निम्ति सार्वजनिक सूचना नै जारी गरियो । समय दिएर भवनहरुलाई नक्सा पास गर्न लगाइयो । उनले कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीलाई दिवा खाजा दिने निर्णय गरेका छन् । सरकारबाट सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीलाई १५ रुपैयाँ छुट्याइँदै आएको छ भने महानगरपालिकाले त्यसमा १० थपेर २५ रुपैयाँ बनाएको छ । उनले योसँगै धेरै काम गरेका छन् । स्वतन्त्र मेयरका रुपमा निर्वाचित बालेनको काम देखेर यतिबेला ठूलठूला राजनीतिक दल सशंकित भएका छन् ।

आफ्नो अस्तित्व नै सकिन्छ कि भन्ने डर एमालेका अध्यक्ष केपी शर्मा ओली, गगन थापा, कमल थापा लगायतका सातो गएको छ । स्वतन्त्रले जितेको देखेर राजनीतिमा आएका रवि लामिछानेको पनि होश उडेको छ । केपी ओली दुई पटक प्रधानमन्त्री र पटकपटक मन्त्री भए । कमल थापा सबैभन्दा धेरै मन्त्री हुने व्यक्तिमा गनिन्छन् । उनी झण्डै डेढ दर्जन पटक मन्त्री भएका छन् । गगन थापा स्वास्थ्यमन्त्री बने भने रवि लामिछाने गृहमन्त्री । तर, कसैले जनता र राष्ट्रका लागि सिन्को पनि भाँचेनन् । अनि अर्काको काम देखेर खुट्टा कपाउनु त परिहाल्यो । आफू पदमा पुगेको बेला यिनीहरुले दुईटा काम गरेका छन् ।

पहिलो, आफन्तलाई जागिर लगाए । दोस्रो, ठेक्कापट्टामा भ्रष्टाचार गरेर अंकुत सम्पत्ति कमाए । आफूहरु सिद्धिने भएपछि यिनीहरुले बालेनविरुद्ध आफ्ना कार्यकर्ता परिचालन गरेका छन् । पर्दाभित्र बसेर यिनीहरुले आफ्नो चाल चलिरहेका छन् । हालै मात्र राष्ट्रिय सभागृह अगाडि उभिएका सामाजिक अभियन्ता भनिने ‘ईः’सहितको टोलीको पक्षमा गगन थापा, केपी ओली लगायत खडा भएका थिए । तर, बालेनले तिनका कुरा सुन्नुहुँदैन । काठमाडौं सुन्दर र व्यवस्थित बनाउन जोडतोडका साथ लाग्नुपर्छ । फुटपाथ पैदलयात्री हिँड्ने ठाउँ हो । फुटपाथभरि पसल राख्दा पैदलयात्रीलाई हिँड्न सास्ती हुन्छ भने दुर्घटनाको जोखिम पनि उत्तिकै बढ्छ । फुटपाथ व्यापारीलाई पसल राख्न त बनाएको होइन ।

अनि त्यो फुटपाथमा पसल राख्न पाउनुपर्छ भन्दै आन्दोलन गर्न मिल्छ ? मेयर बालेनले गर्दा काठमाडौंबासीको शिर ठाँडो भएको छ । यद्यपि, केही व्यक्तिहरु बालेनलाई असफल बनाउन षड्यन्त्र रचिरहेका छन् । बालेनलाई जसरी हुन्छ, काम गर्नबाट रोक्नुपर्छ भनेर लागिपरेका छन् । हरेक व्यक्तिको आफ्नै थातथलो छ । उनीहरु सेवासुविधाका लागि काठमाडौं आएर बसेका छन् । बाहिरी जिल्लामा जन्मिने, त्यहीको नागरिकता लिने, त्यही ठाउँको नेतालाई भोट माग्ने अनि काठमाडौंका सडक ओगट्ने ? आफ्नो जिल्लाका नेतासँग माग गर्नुपर्यो नि । यहाँ आएर माग राख्नलाई त यिनीहरुले बालेनलाई भोट दिएका होइनन् । आफ्नो फाइदाका लागि जन्मथलो छोडेर अर्को ठाउँ जाने अनि त्यहाँका बासिन्दाका हकअधिकार खोस्न मिल्दैन ।

जुन जिल्लाबाट नागरिकता लिएको हो, त्यहीका जनप्रतिनिधिलाई गुनासो सुनाउनुपर्यो । त्यही गएर फुटपाथ राख्नुपर्यो । गाउँमा भएको आफ्नो जग्गा अरुलाई कमाउन दिएर यहाँ सुकुम्बासी भएर बसेका छन् । खोला किनारका सरकारी जग्गा सुकुम्बासीका नाममा हुकुम्बासीहरुले ओगटेका छन् । अब सुकुम्बासी पनि आफ्नै जिल्लामा गएर बन्ने । जे–जे माग छ आफ्ना जनप्रतिनिधिलाई सुनाउने, त्यही गएर सुकुम्बासी बन्ने, फुटपाथ राख्ने । अर्काको जिल्लामा आएर फुटपाथ राख्न पाउनुपर्छ, सुकुम्बासीको नाममा सरकारी जग्गा ओगट्न पाउनुपर्छ भन्न पाइँदैन् । हक माग्न त पहिले आफ्नो जनप्रतिनिधि हुनुपर्छ । २०७९ साल मंसिर ४ गतेको चुनावअघि भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का निवर्तमान सांसद महेश बस्नेतले मेयर बालेनलाई गाली गरेका थिए ।

आफ्नो कार्यक्षेत्र बाहिर गएर गाली गरेको भन्दै भक्तपुरबासीले नै उनलाई चुनावमा पराजित गराइदिए । २०८४ सालको चुनावमा धेरैले हार व्यहोर्नुपर्ने छ । महेश बस्नेतले चाखेको हारको स्वाद अन्य गफाडीहरुले पनि चाख्छन् । मेयर बालेन झनै ‘एक्सन’मा उत्रिनुपर्छ । सरसफाइ सबैलाई चाहिन्छ । उनले काठमाडौंलाई थप सफासुग्घर, व्यवस्थित र सुन्दर बनाउनुपर्छ । काठमाडौंमा फुटपाथ राख्न दिनुहुँदैन् । महानगरले बल्लतल्ल हटाएको फुटपाथ व्यवसायी राख्न दियो भने काठमाडौं फेरिपनि अस्तव्यस्त बन्छ । आन्दोलनमा उत्रिनेबित्तिकै सरकार ब्याक हट्दो रहेछ भन्ने प्रभाव मुलुकभरका आम नागरिकमा पर्न जान्छ । सार्वजनिक, गुठी, मठमन्दिरको जग्गा कब्जा गरेर बनेका घरहरु भत्काउनुपर्छ ।

सुकुम्बासीहरुलाई पनि खोला किनारबाट हटाउनुपर्छ । उनीहरुको कारणले खोला दुर्गन्धित हुँदै गइरहेको छ । यता, खोला सरसफाइको नाममा गरिएको खर्च पनि ‘वालुवामा पानी’ भएको छ । पूर्व अरनिको यातायात प्रालिले महानगरपालिकासँग स्वीकृति नलिईकन जडीबुटीमा बसपार्क बनाएको छ । रोडको छेउमा बनाइएको बसपार्कमा सटर नै सटर छन् । महानगरपालिकाले उक्त बसपार्क सञ्चालन गर्न नदिने जनाएको छ । यता, अरनिको यातायातका अध्यक्ष केदार क्षेत्रीले महानगरको टोली आएमा दुई सय केटा तैनाथ गरेर प्रतिकार गर्ने चेतावनी दिएका छन् । यो भाषाले के अर्थ लगाउँछ ? सबैले बुझिहाल्छन् । पहिले आफैं स्वीकृति नलिइकन बसपार्क बनाउने अनि दादागिरी देखाउने ।

देशमा संविधान छ । कानुन छ । तैपनि गुण्डागर्दी भाषाको प्रयोग गर्छन् । महानगरपालिकाले त्यहाँ बसपार्क सञ्चालन गर्न दिनुहुँदैन । जडीबुटीजस्तो ठाउँमा बसपार्क सञ्चालन गर्न दिँदा झनै ट्राफिक जाम बढ्छ । यता, सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै हुन्छ । जडीबुटीमा अहिले धेरै बस्ती बसिसकेको छ । त्यहीका स्थानीयले समेत बसपार्क सञ्चालनको विषयमा विरोध जनाएका छन् । बालेनसँग मुलुकभरका जनताको साथ छ । स्मरण रहोस्, जनता र कानुनको हितविपरीत जो जान्छ, त्यो सिद्धिन्छ । कानुनभन्दा कुट्छु, गुण्डा लगाउछु भन्नु कतिसम्म लाजमर्दो कुरा हो । बालेनले त काठमाडौंबासीले दिएको जिम्मेवारी पूरा गरिरहेका छन् । काठमाडौंलाई व्यवस्थित बनाउन खोज्नु अपराध त होइन नि ? बालेनले काठमाडौंका जनताका लागि काम गरिरहेका छन्, अरुलाई टाउको दुःखाइको विषय नै रहेन । भोटको खेतीलाई राजनीतिक दलहरुले नौटंकी नदेखाए पनि हुन्छ ।

यसअघि विभिन्न पार्टीका जनप्रतिनिधि काठमाडौंको मेयर भए । त्यतिबेला गरिबी हटाएको भए हुन्थ्यो नि । अहिले आएर गरिबको पक्षमा नाटक देखाउँछन् । पटकपटक प्रधानमन्त्री, मन्त्री भए गरेका केही होइन् । बस् आफ्नै धोक्रो भरे । सुकुम्बासी र फुटपाथ व्यवसायीको पक्षमा उभेकोजस्तो गरेर अर्को चुनावमा जित्छौं भनेर राजनीतिक दलहरुले कोठे राजनीति नगरे पनि हुन्छ । पार्टीबाट आएका जनप्रतिनिधिको पारा सबैले देखेकै छन् । चुनावको बेला घरघरमा पुग्ने, चुनाव जितेपछि अनुहार नै नदेखाउने । आएको बजेट भ्रष्टाचार गर्ने । अनि कसले राजनीतिक दललाई पत्याउँछ ? काम गर्नुपर्यो नि । अब गफ ठोकेर खाने दिन गए, काम गरेर देखाउनुपर्छ । राजनीतिक दलको चालामाला सबैलाई थाहा छ, अब जनताले पत्याउँदैनन् । अर्काको खुट्टा तान्नुभन्दा पनि आफू सुध्रिनु । यो भयो भनेचाँहि देशमा विकास हुन्छ ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार ०७:०६

लोकप्रिय