सूचनाको शक्ति - The Power Of Information

        

आज विश्व मुटु दिवस : कसरी लाग्छ मुटु रोग ?

आज विश्व मुटु दिवस । विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरी मनाइँदैछ । विश्वमा हरेक वर्ष दुई करोड मानिसको मृत्यु मुटु रोग र सम्बन्धित आर्टरीहरूको कारणले हुने गर्दछ । यो संसारको मृत्युको कारणमध्ये पहिलो हो ।

मुटु एउटा सानो पम्पजस्तो अंग हाम्रो छातीमा जन्मदेखि मरणसम्म रगतको चाप हरेक धमनी अनि कोशिकाहरूमा पठाइरहन्छ । मुटु हाम्रो सुस्वास्थ्यको पनि मुटु नै हो । हामीले मुटु रोग भन्दै गर्दा हृदयाघात बुझ्नु पर्दछ ।

यो रोग ठूलो भएपछि लाग्ने होइन, यो देखा पर्दा मानिस ठूलो भइसकेको हुन्छ । सन् १९९९ मा विश्व मुटु संगठन र विश्व स्वास्थ्य संघको संयुक्त प्रयासमा विश्व मुटु दिवस मनाउने चलन सुरु भएको हो ।

विश्व मुटु दिवस पहिलो पटक २७ सेप्टेम्बर २००० मा सुरु भएको हो । सन् २०११ सम्म यो दिवस हरेक सेप्टेम्बर महिनाको अन्तिम आइतबार मनाउने गरिएको थियो भने त्यसपछि सेप्टेम्बरको २९ तारिखको दिन विश्वभरि यो दिवस मनाउने गरिएको छ ।

मुटु रोग लाग्ने कारक तत्त्वहरू के हुन् ?

मुटुको रोग लाग्ने कारक तत्त्वहरू वैज्ञानिक हिसाबले प्रमाणित भइसकेका छन् । मुख्यगरी धूम्रपान वा सुर्तीजन्य पदार्थ सेवन, उच्च रक्तचाप, नियन्त्रित नभएको मधुमेह, रगतमा भएको चिल्लो पदार्थहरूको असन्तुलन, व्यायाम, ध्यान योग नगर्ने बानी, वजन धेरै हुनु, अनावश्यक तनाव लिने बानीका कारण मुटुको रोग लाग्ने गर्छ ।

त्यस्तै लोभ लालच, फलफूल नखाने बानी, खानामा नुनु धेरै, चिनी धेरै, कार्बोहाइड्रेट धेरै खाने बजारको पोके खाना खाने बानी, कम सुत्ने बानी इत्यादि पर्दछन् । यी कुरा वैज्ञानिकहरूले प्रमाणित गरिसकेका छन् । कारक तत्त्वमध्ये केही गर्न नमिल्ने एउटै कुरा छ त्यो हो वंशाणुगत आउने कारक तत्त्व । यो हाम्रो हातमा निर्भर गर्दैन, बाँकी सबै हामी आफैँ नियन्त्रण गर्न सक्षम छौँ ।

के गर्ने ?

कमसेकम वर्षको एक पटक डाक्टरको सल्लाह लिएर आफ्नो स्वास्थ्यबारे जानकारी लिने गरौँ र कुन कुन कारण तत्त्वलाई ठीक अवस्थामा राख्नु छ, त्यसमा ध्यान दिने गरौँ । चुरोट रक्सीको सेवन नगरौँ, रक्तचाप मधुमेह र रगतमा हुने चिल्लो पदार्थ नियन्त्रण गरेर राखौँ, तौल बढ्न नदिन व्यायाम, ध्यान योग अभ्यास गर्ने गरौँ, अनावश्यक तनाव लिने, लोभ लालचमा नफसौँ, फलफूल खाने बानी बसालौँ । आफ्नो मुटु स्वस्थ राखौँ ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार ०२:४६

लोकप्रिय