सूचनाको शक्ति - The Power Of Information

        

कुकुरबाहेकका जनावरले टोक्दा पनि लाग्छ रेबिज

विश्व रेबिजविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रुपमा मनाइन्छ ।

यस वर्षको नारा ‘सबैका लागि एक, सबैका लागि एकै स्वास्थ्य’ले स्वास्थ्य केही चुनिएका व्यक्तिका लागि मात्र होइन, सबैका लागि हो भन्ने कुरालाई प्रकाश पारेको छ । यो दिवस लुई पास्चरको मृत्युको वार्षिकीका रुपमा समेत मनाइन्छ । २७ डिसेम्बर १८२२ मा फ्रान्सको डोलमा जन्मिएका पास्चरले रेबिजविरुद्धको पहिलो खोप विकास गरेका थिए ।

७२ वर्षको उमेरमा सन् २८९५ सेप्टेम्बर २८ मा फ्रान्सको मारनेस–ला–कक्वेटमा निधन भएको थियो । यस दिवसको उद्देश्य रेबिजविरुद्धको लडाइँमा सबै समूह, सङ्गठन र सरोकारवालालाई एकजुट गराउने हो । ग्लोबल एलायन्स फर रेबिज कन्ट्रोलले सन् २००७ देखि विश्व रेबिजविरुद्धको दिवसको रुपमा मनाउन थालेको थियो ।

कालान्तरमा विश्व स्वास्थ्य सङ्गठनले यस दिवसलाई समर्थन गरेको थियो । नेपालले सन् २०३० सम्म रेबिजलाई शून्यमा झार्ने लक्ष्य लिएको छ । तर नेपालको सन्दर्भमा रेबिज चुनौती बन्दै गएको चिकित्सक बताउँछन् । अझै पनि ९९ प्रतिशत रेबिज कुकुरको टोकाइबाट हुने गरेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको गत आर्थिक वर्ष २०७९–०८०को तथ्याङ्कअनुसार ७५ हजार ५६२ जनालाई कुकुर र ९ हजार ९२१ जनालाई अन्य जनावरको टोकाइबाट बिरामी भएका थिए । यस्तै आव २०७५–०७६ मा ३२ हजार ८८२ जनालाई कुकुरले टोकेर थियो ।

यो सङ्ख्या क्रमशः बढ्दै गएर आव ०७७–०७८ मा ५४ हजार ९९६ जना पुगेको थियो । गत आवमा दुई लाख ५० हजार, ‘एआरभी’ भायल खोप खपत भएको थियो । महाशाखाका अनुसार आव ०७०–०७१ मा नेपालमा रेबिजका कारण १० जनाको मृत्यु भएको थियो । आव ०७१–०७२ मा १३ जना, ०७२–०७३ मा छ जना,०७३–०७४ मा आठ, ०७४–०७५ मा ३२ जना र आव ०७५–०७६ मा १८ जनाको रेबिजका कारण मृत्यु भएको थियो ।

तर पछिल्ला वर्षहरुको तथ्याङ्कमा रिपोर्ट भएका जनावरको टोकाइका घटनाको सङ्ख्यामा उतारचढाव आए पनि रेबिजको मृत्युको सङ्ख्या गत वर्षको तुलनात्मक रुपमा बढ्दै गएको महाशाखाका अधिकारी बताउँछन् । रेबिज एक घातक भाइरल सङ्क्रमण हो, यसलाई न्यूरोट्रोपिक भाइरस भनिन्छ ।

जुन छाडा कुकुर, स्याल, चमेरो, न्याउरी मुसो, बाघ, चितुवा र बिरालोजस्ता सङ्क्रमित जनावरको टोकाइबाट सर्छ । रेबिजबाट बच्नको लागि सम्भावित जोखिम पछि तुरुन्तै खोप लगाउनु आवश्यक हुन्छ । रेबिजको सङ्क्रमणको लक्षण ज्वरो र टाउकोबाट सुरु हुन्छ र प्रकाश, पानी र हावादेखि डर लाग्ने हुन्छ ।

यसले पक्षघात र अन्ततः कोमामा समेत पुग्ने जोखिम हुन्छ । कुकुर वा बिरालोजस्ता जङ्गली जनावर वा घरपालुवा जनावरलाई छुँदा वा खुवाउँदा धेरै सावधानी अपनाउन चिकित्सकको सुझाव छ । महाशाखाका पशु चिकित्सा अधिकारी रोशिका श्रेष्ठले भनिन्, ‘टोक्नासाथ रेबिजविरुद्धको खोप लगाएमा यो रोगबाट बच्न सकिन्छ । अन्यथा एक पटक लक्षण देखा पर्न थालेपछि, यो घातक हुन्छ, र धेरैजसो अवस्थामा मृत्यु हुन्छ ।’

रेबिजबारे भ्रमलाई चिर्न यसबारे जनचेतना अभिवृद्धि गर्न आवश्यक भएको उनले बताए । ‘कुनै पनि उमेर समूहका कुनै पनि प्रकारका कुकुरले टोक्दा यो रोग सर्न सक्छ । घरमा खोप लगाएको छ भनेर हुँदैन । घरमा पालेको कुकुरमा समेत सङ्क्रमण हुन सक्छ,’ उनले भने, ‘तुरुन्त रेबिजविरुद्धको भ्याक्सीन लगाउनुपर्छ । पाँच वर्षमुनिका बालबालिकालाई रेबिज लाग्दैन भन्ने भ्रम छ । सबै उमेर समूहका लागि यसविरुद्धको खोप अत्यावश्यक हुन्छ ।’

जनावरले टोक्ने बित्तिकै बगिरहेको धाराको पानीमा १५ मिनेटसम्म सफा गर्नेपर्ने उनको सुझाव छ । सरकारले प्राथमिक स्वास्थ्य केन्द्रमा यसविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । चिकित्सकका अनुसार घाउमा जथाभावी वस्तु प्रयोग गर्दा सङ्क्रमण झन् बढ्ने जोखिम हुन्छ ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार ०४:४६

लोकप्रिय