सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुर-नेपालगन्ज १३२ केभी प्रसारण लाइनको शिलान्यास

बाँकेको नेपालगन्ज तथा आसपासका क्षेत्रमा गुणस्तरीय र प्रभावकारी विद्युत् आपूर्तिका लागि महत्त्वपूर्ण मानिएको एक प्रसारण लाइनको शिलान्यास गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले बुधबार एक समारोहबीच नेपालगन्जमा सो सवस्टेशनको शिलान्यास गरेका हुन् । सो प्रसारण लाइनको क्षमता १३२ किलोभोल्ट रहेको छ ।

यस्तै, ३३ केभी क्षमताको सवस्टेसनको पनि बुधबारै शिलान्यास भएको छ । सो आयोजना आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

नेपालगन्ज तथा आसपासका क्षेत्रमा गुणस्तरीय, भरपर्दो र सर्वसुलभ विद्युत् आपूर्ति गर्ने लक्ष्य राखिएको सो प्रसारण लाइनको निर्माणपछि त्यस क्षेत्रमा विद्युत् आपूर्तिमा थप सहजता पैदा हुने आयोजना प्रमुख रञ्जनराज गुरुङले जानकारी दिए ।

सो अवसरमा ऊर्जामन्त्री बस्नेतले आन्तरिकरूपमा बिजुलीको खपत बढाउन सरकार लागिपरेको बताए । सोही उद्देश्य परिपूर्तिका लागि प्रसारण लाइनकोे निर्माण तथा सवस्टेसन निर्माणमा सरकारले अभियान नै चलाएको उनले जानकारी दिए ।

उनले बढी भएको बिजुली मात्रै निकासी गरिने उल्लेख गरे । कूल १० किलोमिटर लामो सो प्रसारण लाइन निर्माणपछि नेपाल र भारतबीच विद्युत् व्यापारमा समेत नयाँ ढोका खुल्नेछ ।

कूल २०० मेगावाट बराबरको बिजुली प्रवाह गर्न सकिने सो प्रसारण लाइनको निर्माणपछि भारतको नानपाराबाट बाँकेको नेपालगन्जमा जोडिएको पुरानो लाइन विस्थापित हुनेछ । कम क्षमताको सो प्रसारण लाइनका कारण विद्युत् आपूर्तिमा कठिनाइ हुँदै आएको छ ।

प्रसारण लाइनको निर्माणपछि बाँके र आसपासका क्षेत्रमा औद्योगिक विकास, खानेपानी, सिँचाइ तथा अन्य पूर्वाधार विकासमा टेवा पुग्ने आयोजना प्रमुख गुरुङको भनाइ छ । यस्तै, विद्युत् खरिद बिक्रीमा सहजता तथा आय आर्जनमा वृद्धि हुनेछ ।

निरन्तर विद्युत् आपूर्ति, राष्ट्रिय ग्रिड सुदृढीकरण, जनगुनासोमा कमी आउने आयोजनाले विश्वास लिएको छ । कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवाल लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार ०२:३२

लोकप्रिय