सूचनाको शक्ति - The Power Of Information

        

अझै आन्दोलनमै शिक्षक आमाहरू

सरकारले संसद्मा पेस गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासंघले गत ३ देखि ६ असोजसम्म काठमाडौं केन्द्रित आन्दोलन गरेसँगै सरकारसँग ६ बुँदे सहमति भएपछि आन्दोलन टुंगिएको छ ।

तर, आन्दोलनमै काठमाडौं आएका राहत शिक्षकले भने महासंघले आफूहरुका मागलाई बेवास्ता गरेर सरकारसँग सम्झौता गरेको भन्दै आन्दोलनलाई जारी राखेका छन् । महासंघले विभिन्न १८ बुँदे माग राखेकामा सरकारसँग सहमति भए पनि राहत शिक्षकले भने आफूहरुका माग सम्बोधन अपूरो भएको भन्दै आन्दोलन जारी राखेका हुन् ।

आन्दोलनमा थुप्रै आमा शिक्षकहरु काखे शिशुदेखि विद्यालय जाने उमेरका बालक बोकेर सडकमा बसिरहेका छन् । बानेश्वरको सडकपेटी तिनै बालक र आमा शिक्षकको थकाइ मार्ने थलो बनेको छ । उनीहरुका लागि न शौचालय सुविधा छ, न त आराम गर्ने ठाउँ ।

देशका ७७ वटै जिल्लाबाट भेला भएका राहत शिक्षकले आफ्नो माग सम्बोधन नभएसम्म विरोधका कार्यक्रमलाई निरन्तरता दिने बताइरहेका छन् । सिन्धुपाल्चोकबाट सानो नानी बोकेर आन्दोलनमा आएकी रुकमाया तामाङ भन्छिन्, विधेयक ठीक नलागेर आन्दोलनमा आएका हौं । बच्चा बोक्दा त्यति गाह्रो भएको छैन ।

कक्षाकोठामा हुनुपर्ने हामी शिक्षकलाई आन्दोलन गर्न बाध्य बनाएर सरकार रमिता हेरिरहेको छ । उनी जुगल गाउँपालिकास्थित आधारभूत विद्यालयमा राहत शिक्षकका रुपमा प्रावि तह पढाउँछिन् । आन्दोलनका लागि ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी शिक्षक, कर्मचारीलगायत काठमाडौंमा आन्दोलनमा आएका थिए । केही सरकारसँग माग पूरा भएपछि फर्किए भने केही माग पूरा नभएको भन्दै सडकमै छन् ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार ११:१५

लोकप्रिय