सूचनाको शक्ति - The Power Of Information

        

वैवाहिक समारोहमा आगलागी हुँदा कम्तीमा १०० जनाको मृत्यु

अल हम्दानिया अस्पताल बाहिर सेना र आपत्कालीन सेवाका कर्मचारीहरू ।

उत्तरी इराकमा एउटा वैवाहिक समारोह भइरहेको भवनमा आगलागी हुँदा कम्तीमा १०० जनाको मृत्यु भएको र १५० जना घाइते भएको इराकको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा बेहुला र बेहुली पनि छन् । इराकको उत्तरी निनेभ प्रान्तको अल–हम्दानिया जिल्लामा मङ्गलवार राति अबेर उक्त घटना भएको थियो । आगलागीको कारण खुलिसकेको छैन ।

विवाहको अवसरमा आतसबाजी गर्दा आगो फैलिएको प्रारम्भिक विवरणहरूमा उल्लेख छ । इराकी समाचारसंस्था निनाले पोस्ट गरेको तस्बिरमा आगो निभाउन दर्जनौँ अग्निनियन्त्रकहरू लागिपरेको देख्न सकिन्छ ।

आगो फैलिँदा खसेको भवनको छत ।

स्थानीय पत्रकारहरूले सामाजिक सञ्जालमा विवाह भएको हल जलेर बाँकी रहेको अवशेषको तस्बिर राखेका छन् । उक्त भवन बनाउन प्रयोग गरिएका सामग्री प्रज्जवलनशील भएकाले आगो सजिलै फैलिएको हुनसक्ने अनुमान गरिएको छ ।

आगो लागेपछि हलको छतको केही भाग नै खसेको छ । इराकको नागरिक रक्षा निर्देशनालयका अधिकारीलाई उद्धृत निनाले गर्दै लेखेको छ, ‘कार्यक्रम हल बनाउनका लागि कम खर्चिलो सामाग्री गरिएको र त्यो छिट्टै जल्न सक्ने भएका कारण हलको केही भाग केही मिनेटभित्रै ढल्यो र आगो तीव्र गतिमा फैलियो ।’

समाचारसंस्था रोएटर्सका संवाददाताले खिचेको भिडिओमा अग्निनियन्त्रकहरूले जीवित मानिसको खोजी गर्न जलेको भवनमाथि चढेको देखिन्छ । स्थानीय समयानुसार राति करिब पौने ११ बजे आगलागी हुँदा सयौँ मानिसहरू उक्त वैवाहिक समारोहमा उत्सव मनाइरहेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

प्रधानमन्त्रीको निर्देशन

आगलागीपछि भत्किएको भवनमा आपत्कालीन सेवाका कर्मचारी ।

‘आगोको मुस्लो बाहिर निस्किरहेको हामीले देख्यौँ । जो बाहिर निस्किन सके निस्के, जो सकेनन् उनीहरू त्यहीँ फसे । जो बाहिर निस्किन सके उनीहरू पनि घाइते थिए,’ हलबाट बाहिर निस्किन सफल ३४ वर्षीया योहानाले रोएटर्ससँग भनिन् ।

इराकी अधिकारीहरूले एम्बुलेन्स र स्वास्थ्यकर्मीहरूको टोलीलाई घटनास्थलमा पठाएको आधिकारिक विज्ञप्तिमा उल्लेख छ । इराकका प्रधानमन्त्रीले अधिकारीहरूलाई ‘दुर्भाग्यपूर्ण घटनाबाट प्रभावित भएकाहरूलाई राहत दिन सबै प्रयास गर्न’ निर्देशन दिएको उक्त कार्यालयले एक्समा एउटा पोस्ट गर्दै जनाएको छ ।

घाइतेहरूलाई निनेभ क्षेत्रका अस्पतालहरूमा पुर्याइएको उक्त क्षेत्रका गभर्नरले बताएका छन् । उनले कति जनाको मृत्यु भयो र कति घाइते भए भन्ने निर्क्योल नभएको र त्यो सङ्ख्या बढ्न सक्ने बताएका छन् । हम्दानियास्थित प्रमुख अस्पतालमा घाइतेहरूलाई सहयोग गर्न कयौँ मानिसहरू रक्तदान गर्न पुगेका छन् ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार ०६:३२

लोकप्रिय