सूचनाको शक्ति - The Power Of Information

        

बिहान चिया, कफीको सट्टा के पिउने ?

भनिन्छ बिहानको सुरुवात राम्रो भयो भने दिनभर राम्रो बित्छ । दिनभर ताजा रहन र शरीरलाई स्वस्थ राख्न बिहानको खाना स्वास्थ्य हुनुपर्छ । धेरैजसो मानिसले आफ्नो दिनको सुरुवात चिया वा कफीबाट गर्छन् । तर, चिया वा कफीको बानी स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

बिहान खाली पेटमा चिया र कफी पिउनाले एसिडिटी र पेटसम्बन्धी धेरै रोग लाग्न सक्छ । त्यसैले बिहान उठ्नेबित्तिकै चिया र कफी पिउनुको सट्टा ऊर्जाले भरिपूर्ण हुने र शरीरलाई स्वस्थ राख्न मद्दत गर्ने केही यस्ता पेय पदार्थ सेवन गर्नुपर्छ ।

दूध

बिहानको खाजामा चियाको सट्टा दूध पिउने बानी बसाल्नुहोस् । दूधलाई निकै पौष्टिक मानिन्छ । भिटामिन, क्याल्सियम पाइने दूधको नियमित सेवनले हड्डी र दाँत बलियो हुन्छ । बिहान दूध पिउनाले दिनभर ऊर्जावान् रहन्छ । यस्तो अवस्थामा दैनिक बिहानको नास्तामा दूध पिउनुपर्छ ।

मनतातो कागती पानी

कागती पानीलाई ऊर्जा पेय भनिन्छ । गर्मीमा तपाईंले जुनसुकै बेला कागती पानीको सेवन गर्न सक्नुहुन्छ जसले डिहाइड्रेसनको समस्या कम गर्छ तर बिहान मनतातो पानीमा कागतीको रस मिसाएर पिउनाले शरीरलाई बढी फाइदा हुन्छ । बिहान खाली पेटमा मनतातो कागती पानीले पाचन प्रणाली र रोग प्रतिरोधात्मक क्षमतामा सुधार गर्छ । तौल बढ्नबाट रोक्छ र दिन राम्रोसँग सुरु हुन्छ ।

नरिवलको पानी

नरिवल पानी स्वास्थ्यको हिसाबले पनि फाइदाजनक हुन्छ । बिहान नरिवलको पानी पिउनाले दिनभर ऊर्जाको कमी महसुस हुँदैन । नरिवलको पानीमा चिनी र बोसोको मात्रा निकै कम हुन्छ । त्यसैले नरिवलको पानी पिउनु स्वास्थ्यका लागि हरेक हिसाबले राम्रो हुन्छ ।

जुस

बिहान ताजा फलफूलको जुस पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । जुसले शरीरलाई ऊर्जा प्रदान गर्नुका साथै स्वास्थ्यलाई बलियो बनाउँछ । बिहान तपाईं धेरै प्रकारको जुस पिउन सक्नुहुन्छ । तर कागतीको जुस, एलोभेराको जुस, अनारको जुस र लौकाको जुस बिहान खाली पेटमा खानु निकै फाइदाजनक मानिन्छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार ०२:१७

लोकप्रिय