सूचनाको शक्ति - The Power Of Information

        

सशस्त्रमा इन्टेलीजेन्स ब्यूरोका हाकिमहरु हेरफेर

सशस्त्र प्रहरीको आन्तरिक गुप्तचर र बाह्य गुप्तचरीमा क्रियाशील रहेका अधिकृतहरुको व्यापक हेरफेर गरेको छ । सशस्त्र प्रहरी मूख्यालय नजिकै छुट्टै कार्यालय स्थापना गरेर बसेको इन्टेलिजेन्स ब्यूरोका हाकिमहरु परिवर्तन भएका हुन् ।

एसएसपी तेज पोखरेल, एसएसपी सुधीरजंग थापा, एसपी शेरबहादुर अधिकारीहरु त्यहाँबाट हिँडेका छन् । पोखरेल रुपन्देहीमा बस्दा विवादमा आएका थिए । थापा झापाबाट त्यहाँ आएका थिए । उनले डेढ वर्ष त्यहाँ बिताए, एसपी अधिकारी सशस्त्रका सदावहार गुप्तचर हुन् ।

आतंकवादसम्बन्धी अनुसन्धान गर्नुपरेमा खोजीको सूचीमा रहेका अधिकारीलाई सशस्त्र प्रहरीभित्र रहेका प्रहरी कर्मचारीको ज्ञाता मानिन्छ । उनलाई पनि त्यहाँबाट बाहिर राखिएको छ । उनी बढुवा भएर स्टाफ कलेजमा पुगेका छन् ।

यद्यपि, उनले प्रहरी महानीरिक्षक राजु अर्यालको निर्देशनमा अन्तरदेशीय अपराध र आतंकवाद नियन्त्रण र उनीहरुको सञ्जालसँग सम्बन्धित विषयमा विभिन्न क्षेत्रको काम गरिरहेका हुन्छन् । उनी लामो समय इन्टेलीजेन्समा बसेकाले आन्तरिक तथा बाह्य गुप्तचरीमा दख्खल राख्ने गरेका छन् ।

थापा भने गुप्तचरीमा खासै रुची नभएका एसएसपी थिए । थापाले अधिकारीलाई खासै भाउ नदिएपछि आइजीपी अर्यालले उनलाई विशेष टास्कसहितको काम दिएका थिए । उनी बढुवा भएर स्टाफ कलेजमा गए पनि पुरानो जिम्मेवारीमा निरन्तर क्रियाशील रहेको स्रोतको दावी छ ।

हाल एसएसपी किरण ढुंगाना इन्टेलिजेन्स ब्यूरोमा आएका छन् । ढुंगाना आफूलाई आन्तरिक तथा बाह्य गुप्तचरी संयन्त्र परिचालनमा अब्बल ठान्छन् । अध्ययन अनुसन्धान पनि राम्रै दख्खल राख्ने गरे पनि बाहिरी संयन्त्रबाट इन्टेलिजेन्स ब्यूरोलाई टाढा राख्नुपर्छ भन्ने मान्यता राख्ने उनले अब कसरी परिचालन गर्छन् भनेर हेर्न बाँकी रहेको छ ।

उनको विगत भने खासै राम्रो छैन । सञ्चारकर्मीहरुभन्दा टाढा बस्नुपर्छ भन्ने तर त्यहाँका प्रकाशसन प्रशासरण भएका समाचारको विश्लेषणमा भने रुची राख्ने गरेका छन् । उनी वामपन्थी पार्टीहरुसँग नजिक रहेका छन् । ढुंगानाले एमालेका दिवंगत नेता सुवास नेम्वाङलाई मामा नाता लगाउने गरेका थिए ।

त्यसबाहेक पूर्वमा वामपन्थी नेताहरुसँग पनि उनको उठवस रहेको स्रोतले जनाएको छ । यसैबीच पूर्वतिर घर भएका एसएसपी राजेश उप्रेती मानवस्रोत विभागमा पोष्टिङमा परेका छन् । पूर्वकै सिपी गौतम प्रमुख भएर आउनुअघि नै उनी त्यहाँ गएका थिए । त्यहाँ एसएसपी उप्रेतीको खास काम छैन ।

दिनभरि तलमाथि हल्लिने र विभागमा रहेका अन्य कर्मचारीलाई ऐना कसरी हेर्ने भनेर सिकाउने मात्रै उनको काम रहेको स्रोतले जनाएको छ । ‘एसएसपी उप्रेती आफू पनि ऐनाको पारखी भएको र हामीलाई पनि ऐना हेरेर ड्रेस कसरी लगाउने भन्दै सिकाउने गर्नुहुन्छ,’ विभागका एक सिनियर अधिकृतले भने ‘मुख्यालयमा उहाँलाई ऐनाविज्ञका रुपमा राखे पनि हुन्छ ।’

एसएसपी उप्रेती आफूलाई प्रगतिशील कवि बताउने नन्दु उप्रेतीका भाइ नाता पर्छन् । उनको बढुवामा एक नम्बरमा हुनुमा उनै कविको माथिल्लो तहमा राजनीतिक पहुँच हुनु पनि एउटा कारण रहेको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार ०१:५१

लोकप्रिय