सूचनाको शक्ति - The Power Of Information

        

गुमनाम सुनकाण्ड

तस्करीबाट आएको सुन ।

६१ किलो सुन तस्करीका मुख्य लगानीकर्ता को–को हुन् भन्नेबारे सरकारी अनुसन्धानकर्ताले अझै पत्ता लगाउन नसक्दा यो विषय गुमनाम बन्दै गएको छ ।

सो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेका ३२ अभियोगीमध्ये सबैजसो भरिया र सहयोगी मात्रै रहेका छन् ।

साउन २ मा अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको ६१ किलोसहित यसअघिका सुन प्रकरणसमेतको अध्ययनका लागि सरकारले बनाउने भनेको उच्चस्तरीय जाँचबुझ आयोगसमेत बनाउन सकेको छैन ।

भदौ ६ गते संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यताप्राप्त दलहरूबीच भएको सहमतिअनुसार असोज ५ मा उक्त आयोग बनाएर सुन तस्करीसम्बन्धी अहिलेसम्मका सबै प्रकरणको अध्ययन अनुसन्धान गर्ने भनिएको उधारो सहमति कार्यान्वयन गर्न दलहरूबीच पुनः सकस देखिएको छ ।

आइतबार गृह मन्त्रालयमा बसेको दलीय संयन्त्रको बैठकमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानलाई मान्यता दिएर अध्ययन गर्ने कि सुन तस्करीको आफैं अनुसन्धान गर्ने भन्नेमा सत्तारुढ र विपक्षी दलहरूबीच विवाद हुँदा उच्चस्तरीय जाँचबुझ आयोगको कार्यादेशबारे भएको छलफल बिनानिष्कर्ष टुंगिएको छ ।

स्रोत : नेपाल समाचारपत्र
प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार ०२:११

लोकप्रिय