सूचनाको शक्ति - The Power Of Information

        

चीनको ह्याङचउमा १९औं एसियाली खेलकुदको भव्य उद्घाटन

एसियाली खेलकुदको १९ औ संस्करण चिनको ह्याङचउ शहरमा शनिबारदेखि औपचारिक रुपले सुरु भएको छ ।

ह्याङचउको ओलम्पिक स्पोर्ट्स सेन्टरमा चिनियाँ राष्ट्रपति सी जिङपिङले भव्य समारोहकाबिच १९ औं एसियाडको औपचारिक उद्घाटन गर्नुभयो । १९ सेप्टेम्बरदेखि नै फुटबल, क्रिकेट र भलिबलका खेलहरु सुरु भइसके पनि एसियाडको औपचारिक उद्घाटन शनिबार मात्रै गरिएको हो ।

उद्घाटन समारोहमा सहभागी ४५ वटै देशका खेलाडीले मार्च पास गरेका थिए । सहभागी खेलाडी र जजको तर्फबाट एक एक जनाले सपथ लिएका थिए । एसियाडको टर्च बालेपछि अन्तिममा १९ औं एसियाडको आधिकारिक गीत ‘द लभ वि सेयर’ को प्रस्तुति सँगै उद्घाटन समारोह सकिएको थियो ।

उद्घाटन समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सहभागी हुनुभएको थियो । कमलको फूलजस्तै आकारमा रहेको उद्घाटन स्थल ‘बिग लोटस’को नामले समेत चिनिन्छ । एसियाडको समापन पनि यही रंगशालामा हुनेछ ।

चीनमा तेस्रो पटक आयोजना भइरहेको एसियाड एसियाली खेलकुदको इतिहासमै सहभागिताको हिसाबले सबैभन्दा ठूलो बनेको छ । यस पटक एसियाडमा ४५ देशका १२ हजार ४ सय १७ खेलाडीले ४० खेलमा प्रतिस्पर्धा गर्दैछन् ।

सन् १९५१ मा छिमेकी भारतबाट सुरु भएको एसियाड चीनले यसअघि सन् १९९० र २०१० मा आयोजना गरेको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतवार ०२:३५

लोकप्रिय