सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्जमा जथाभावी फोहोर फाल्नेलाई जरिवाना गरिने

नेपालगञ्ज उपमाहानगरपालिकाले सडकमा जथाभावी फोहोर फाल्नेलाई जरिवाना गर्ने तयारी शुरु गरिएको जनाएको छ ।

नेपालगञ्ज उपमहानगरका मेयर प्रशान्त विष्टले एक वर्षसम्म फोहोर व्यवस्थापनबारे स्थानीय वासिन्दालाई निकै सचेत पारिएको र सम्झाइ बुझाइ समेत गरिएको बताए ।

अब पनि जथाभावी फोहोर गरिएको पाइएमा जरिवाना गरिने उनको भनाइ छ । उनले जथाभावी फोहोर नफाल्न सर्वसाधारणलाई अनुरोध गर्दै अबदेखि त्यस्तो गरिएको पाइएमा कारवाहीस्वरुप जरिवाना गरिने बताए ।

मेयर विष्टले थपे, ‘निर्वाचित भएर आएको एक वर्षसम्म विभिन्न सचेतनाका कार्यक्रम गरेर फोहोर व्यवस्थापनबारे जनतालाई जानकारी गराएका छौं, अब पनि कसैले अटेरी गर्छ र जहाँ पायो त्यही फोहोर फाल्छ भने अब जरिवाना तिर्नुपर्छ ।’

नेपालगञ्ज उपमहानगरको वातावरण तथा सरसफाइ शाखाका अनुसार नेपालगञ्ज नगरमा सबैभन्दा बढी बजेट खर्च गरेर सरसफाइको काम भइरहेको छ । नगरपालिकाले सफाई गरेर गएपछि जथाभावी ढङ्गले सडकमा फोहोर फाल्ने गरिएकाले अब त्यस्तो नगर्न सबैलाई आग्रह गरेको छ ।

नेपालगञ्जलाई फोहोरमुक्त र सफा शहर बनाउने अभियान शुरु गरिएको जनाउँदै सरसफाइ शाखाका प्रमुख प्रकाश डिसीले यो अभियानमा उपमहानगर भित्रका सबै जनाको सहयोग अपरिहार्य भएको बताए ।

उनले टोल टोलमा सरसफाइ समिति बनाएर फोहोर व्यवस्थापनबारे निगरानी गर्न पनि सबैलाई अनुरोध गरिएको बताए । नगरका विभिन्न ठाउँमा अझै पनि स्थानीयले जथाभावि फोहोर फाल्ने गरेकाले सरसफाइ कार्यक्रम सफल हुन नसकेकाले कडाइ गर्ने निर्णयमा पुगिएको उपमहानगरले जनाएको छ ।

नेपालगञ्ज ११ का वडा अध्यक्ष नन्दकिशोर कश्यपले फोहोर व्यवस्थापनबारे सचेतना फैलाउने काम अब सकिएको जनाउँदै वडावासीको घर–घरमा पुगेर अब फोहोर जथाभावी फालेमा कारवाही हुने जानकारी गराए ।

नेपालगञ्जमा ३५ हजार ५१७ परिवारमा १ लाख ६६ हजार २५८ को बसोबास रहेको छ । प्रतिदिन कम्तिमा ३८ मेट्रिक टन फोहोर उत्पादन हुनेगरेकोमा २५ टन मात्र प्रशोधन केन्द्रसम्म पुग्ने गरेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार १८:१६

लोकप्रिय