सूचनाको शक्ति - The Power Of Information

        

झडपपछि सुधार गृहबाट भागेका नौं जना अझै सम्पर्कविहीन

बाँकेको डडुवा गाउँपालिका–६ मा रहेको जयन्दु बाल सुधार गृहमा भएको झडपपछि नौ जना थुनुवा फरार भएका छन् ।

फरार भएकाहरु कहाँका हुन् र कहिलेदेखि बाल सुधार गृहमा थिए भन्ने विषय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

उनका अनुसार फरार रहेका सबैको खोजी गर्न प्रहरी परिचालन गरिएको छ । ‘झडपका क्रममा १० जना घाइते भएका थिए । घाइतेमध्ये एकको उपचारका क्रममा मृत्यु भएको थियो,’ प्रनाउ डाँगीले भने ।

झडपमा रुपन्देहीको कञ्चन गाउँपालिका–४ का सुलभ केसीको मृत्यु भएको उनले जानकारी दिए । प्रनाउ डाँगीका अनुसार उनी अपहरण, शरीर बन्धक तथा जबर्जस्ती करणीको मुद्दामा बाल सुधार गृहको थुनामा थिए ।

थुनुवाले सुधार गृहको भवनका झ्यालका सिसा, रेलिङ, बार भत्काएका छन् भने प्रहरीले चारैतिरबाट भवनलाई घेरेर राखेको छ । प्रहरीका अनुसार बाल सुधार गृहमा रहेको दुई मोटरसाइकल, एउटा कम्प्युटर तोडफोड गर्नुका साथै प्रहरीको पोसाकमा पनि आगजनी गरेका छन् ।

दुई ब्लक रहेको उक्त सुधार गृहमा अहिले पनि दुई पक्षबीच भनाभन भइरहेको छ । सुधार गृहका थुनुवा खगेन्द्र सारुङ मगरले सुतेको अवस्थामा अर्को पक्षले आफूमाथि आक्रमण गरेको दाबी गरेका छन् ।

‘हामीलाई टाउको र हातमा निर्घात कुटेका छन्,’ उनले पत्रकारसँग कुरा गर्दै भने । भवनभित्र तनाव जारी रहेकाले नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलमा तैनाथ रहेका छन् । २५४ थुनुवा रहेको सुधार गृहमा १८ वर्षमाथिका १६५ थुनुवा छन् ।

 

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार १६:३४

लोकप्रिय