सूचनाको शक्ति - The Power Of Information

        

नगरपालिकाले ‘थकाइ बिदा’ दिएपछि…

नेपालमा सरकारी कर्मचारीले वर्षमा करिब १२५ दिन कार्यालय जानुपर्दैन । उनीहरूले १२ दिन बिरामी बिदा, ३० दिन घर बिदा, १२ दिन भइपरी तथा पर्वलगायत गरी १२ वटा बिदा सुविधा पाउँछन् । यसैगरी जागिर अवधिभर तीन वर्ष अध्ययन बिदा तथा थप तीन वर्ष असाधारण बिदाको सुविधासमेत उनीहरूले पाएका हुन्छन् ।

महिला कर्मचारीका हकमा ९८ दिन प्रसूति बिदा तथा तिनका पतिलाई समेत १५ दिने सुत्केरी बिदाको सुविधा दिइएको हुन्छ । यसबाहेक एक वर्षमा ५२ दिन शनिबार र करिब १५ दिन सार्वजनिक बिदाको सुविधा उनीहरूले पाएका हुन्छन् । जनताको घरआँगनका सरकार भनिने स्थानीय सरकारले भेगीय मेलापर्व, संस्कृति लगायतमा छुट्टै बिदा घोषणा गरेका हुन्छन् ।

स्थानीय जातजाति बहुल क्षेत्रमा उनीहरूले मानिआएका पर्वका बेलासमेत सार्वजनिक बिदा घोषणा गर्छन् । स्थानीय सरकारले सार्वजनिक बिदाको घोषणा आफूखुसी गरिरहेका बेला काभ्रेको मण्डनदेउपुर नगरपालिकाले कर्मचारीका लागि थप बिदा घोषणा गरेको छ । मण्डनदेउपुरले थकाइ मार्न भन्दै आज नगर क्षेत्रमा सार्वजनिक बिदा दिएको हो ।

सूचना जारी गर्दै आजका लागि थकाइ मार्न भन्दै नगरपालिकाभर सार्वजनिक बिदा दिएको हो । संविधान दिवसका दिन कर्मचारीमा धपेडी भएको, नगरपालिकाको नवनिर्मित भवनबाट सेवा प्रवाह भएको खुसीयाली र कार्यालय सार्दा कर्मचारी थाकेपछि बिदा दिइएको मण्डनदेउपुर नगरपालिकाले बुधबार नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

‘संविधान दिवसको अवसरमा नगरपालिकाको नवनिर्मित भवनबाट सेवा प्रवाह शुभारम्भ भएको हर्षोल्लासको उपलक्ष्यमा तथा सो क्रममा विगत तीन दिनदेखि लगातार व्यवस्थापन गर्ने कार्यमा खटिँदा सम्पूर्ण कर्मचारी तथा जनप्रतिनिधि थकित भएका कारण २०८०।६।४ गतेका दिन नगरपालिकाको कार्यालय, यसअन्तर्गतका कार्यालय, विद्यालय लगायत सम्पूर्ण सरकारी तथा गैरसरकारी संस्थाहरूलाई बिदा गरिएको छ,’ सूचनामा भनिएको छ ।

नगरपालिकाले थकाइ मार्न बिदा दिएपछि सर्वसाधारणले स्थानीय सरकारले मनपरी गर्न थालेको’ भनेर आलोचना छन् । संघीय सरकारले बुधबार मात्रै संविधान दिवस अवसरमा देशभर सार्वजनि बिदा दिएको थियो । त्यसकै भोलिपल्ट मण्डनदेउपुर नगरपालिकाले ‘थकाइ बिदा’ भन्दै नगर क्षेत्रमा बिदा दिएपछि आलोचना भएको हो ।

मण्डनदेउपुरका उपमेयर विष्णुमणि नेपालले प्रमुख प्रशासकीय अधिकृतले सूचना जारी गर्दा त्रुटि गरेकाले आलोचना खेप्नुपरेको दाबी गरे । नयाँ भवनमा सरेपछि सामान यताउता गर्न सार्वजनिक बिदा दिइएको उनले बताए । मण्डन देउपुरमा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का छन् । यद्यपि खड्का हालै सरुवामा परेका छन् । मण्डनदेउपुर नगरपालिकाका सूचना अधिकारी काशीनाथ नेपालले भाडाको घरबाट आफ्नै भवनमा कार्यालय सार्दा निकै थाकिएकाले आज थकाइ बिदा दिइएको पुष्टि गरे ।

‘थाकेरै आजका लागि बिदा दिएका हौं । पुरानो कार्यालयबाट दुई किलोमिटर टाढा रहेको नयाँ भवनमा अफिसका सामान बोकेरै सार्यौं । त्यसका लागि दुई तीन दिन खटिनुपर्यो । हिजो संविधान दिवसको दिन पनि दिनभर व्यस्त भइयो । सोही कारण थकाइ मार्न बिदा दिएका हौं । यसलाई ठूलो इस्यु बनाउनु उचित होइन,’ उनले भने । बहुसंख्यक स्थानीय सरकारले स्थानीय पर्व, जात्रा, मेला विशेषका दिन सम्बन्धित नगर क्षेत्रमा बिदा दिए पनि कर्मचारी थाकेको वहानामा नगर क्षेत्रभर सार्वजनिक बिदा दिने मण्डनदेउपुर पहिलो बनेको हो ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार १४:५४

लोकप्रिय