सूचनाको शक्ति - The Power Of Information

        

समय-सन्दर्भ

धनी र गरिबबीच खाडल : हत्या र हिंसाले भयानक रुप लिने चिन्ता !

अब सरकारले धनी र गरिबबीच विभेद गर्नुहुँदैन । गरिबलाई रोजगारीको व्यवस्था गर्नुपर्छ । हत्या, हिंसाजस्ता अपराधहरु नियन्त्रण गर्नुपर्छ ।

करिब पाँच दशकअघि जन्मिएका मानिसहरु अशिक्षित भएता पनि सार्वजनिक काम गर्न निकै रुचाउँथे । सबै मिलेर आफ्नो टोलमा धारा, बाटो, पाटीपौवा, चौतारा, कुँवा, ताल, पोखरी, विद्यालय निर्माण गर्ने गर्थे । विद्यालय, अस्पताल, मन्दिरजस्ता विभिन्न भवन निर्माण गर्नुपर्ने उनीहरु आफ्नो जग्गा सरकारलाई दान दिन्थे । अर्कातर्फ ठूलोलाई सम्मान गर्नुपर्ने तथा सानोलाई माया गर्नुपर्ने, आफ्नो खुट्टामा आफैं उभिनुपर्ने, ठगी, लुटपाटजस्ता काम गर्न नहुने भनेर अभिभावकहरुले आफ्ना बालबच्चालाई सिकाउँथे । २०४६ सालभन्दा अगाडि नेपालका अधिंकाश जिल्लामा विद्यालय, अस्पताल, प्रहरी चौकी थिएन ।

सबै मिलेर बस्थे । एकअर्कालाई सम्मान गर्थे । आपतविपतमा एकअर्कालाई सहयोग गर्थे । त्यतिबेला ठगी, लुटपाट, चोरी, हत्या, हिंसाजस्ता अपराधहरु प्रायः निकै कम हुने गथ्र्यो । पहिलाका मानिसहरु आफुसँग जे छ, त्यसमै रमाउँन्थे । अरुको देखासिकी गर्दैनन् थिए । डाहा गर्दैनन् थिए । ०४६ साल पछाडि मुलुकमा राजनीतिक परिवर्तन भयो । अभिभावकहरुले बालबच्चालाई व्यवहारिक ज्ञान दिन छोडे र विद्यालयहरुले पनि बालबच्चाहरुलाई सामाजिक विषयतर्फ आकर्षित गरेनन् । यसले गर्दा बालबालिकाहरुले व्यवहारिक र सामाजिक कुरा सिकेनन् ।

अहिले अरुलाई ठगेर, लुटेर चोरेर वा भ्रष्टाचार गरेर पैसा कमाउनु नै मानिसको लक्ष्य बनेको छ । विदेश पठाइदिने प्रलोभनमा रकम ठगी गर्ने तथा मानव तस्करी गर्ने, जनता र राष्ट्रको हितमा काम गर्छु भनी सरकारी कर्मचारी र राजनीतिक दलका नेताहरु भ्रष्टाचार गर्ने, दलालीहरु सिधासाधीलाई महंगोमा घरजग्गा, गाडी र सेयर भिडाएर लुट्नेजस्ता काम भइरहेका छन् । यता, बैंक तथा वित्तिय संस्थाका सञ्चालक र कर्मचारीहरु पनि घुसको लोभमा बचतकर्ताको खर्बो रकम जोखिमपूर्ण क्षेत्रमा लगानी गर्ने र सरकारी–सार्वजनिक सम्पत्ति हिनामिना गर्ने तथा राजस्व छलेर धनी बन्नेजस्ता कार्य भइरहेका छन् ।

अहिले जो व्यक्ति अरुलाई ठगेर, लुटेर अर्बोको सम्पत्ति कमाएर हिँड्छ, उसकै समाजमा मान, प्रतिष्ठा र इज्जत हुन्छ । तर, सरकार त्यस्ता व्यक्तिलाई कानूनको दायरामा ल्याउन सक्दैन । अहिले सबै मानिसमा राज्यलाई राजस्व छलेर, अरुलाई ठगेर आफु धनी बनेर आफ्ना छोराछोरीलाई माथि पुप्याउन पाए हुन्थ्यो भन्ने मनासयको विकास भएको छ । बजारमा सुनिन्छ, बाँठा शोषक सामान्ती व्यक्तिहरुले एक करोड मूल्य पर्ने घरजग्गा धितो राखेर पन्ध्र, बीस लाख रुपैयाँ ऋण दिई त्यत्तिमै धितो पचाइदिएका छन् ।

अहिले जो व्यक्तिले अरुलाई ठगेर, लुटेर वा भ्रष्टाचार गरेर कमाएको हुन्छ, उसकै परिवार तीज आउनु एक–डेढ महिनाअगाडि महँगो साडी, गरगहना लागेर होटल, रेष्टुरेन्टु, डान्स बारहरुमा बियर हातमा बोकेर नाचिरहेको देखिन्छ । हुन त दुःख गरेर कमाएको भएपो माया लाग्छ, अरुलाई ठगेर, लुटेर वा भ्रष्टाचार गरेर कमाएको सम्पत्ति त अरुलाई देखाउन वा प्रचारप्रसार गर्न हतार हुन्छ । यसपालिको तीजमा पनि हुने खाने परिवारका महिलाहरुले महँगा साडी, गरगहना लगाएर आफ्ना साथी संगिनीसमक्ष धाग देखाएको पाइन्छ ।

हिजो पशुपति मन्दिरमा धेरै व्रतालु महिलाहरु बिहानै लाखौं रुपैयाँ पर्ने साडी, गरगहना लगाएर आएका थिए । तर, त्यहाँ माग्न बसेकालाई उनीहरुले एक रुपैयाँ समेत दिएनन् । उल्टै उनीहरुलाई त्यस्ता माग्न बसेका मान्छेहरुलाई हेर्न लाज लाग्यो । हिजो अधिंकाश महिलाहरु नाचगानमा भन्दा बढी टिकटक र सेल्फीमा व्यस्त देखिए । तीज हिन्दु नारीहरुको पवित्र पर्व हो । वर्षभरि महिलाले भोगेका दुःख, पीडा र व्यथा बाहिर ल्याउने पर्व हो । तर, हिजो त्यस्तो केही पनि देखिएन । आफ्ना साथी वा परिवारका महिलाहरुसँग बसेर दुःखसुख साट्नुपर्नेमा महिलाहरु सेल्फी र टिकटकमा व्यस्त देखिए ।

यसले गर्दा हाम्रो चाडपर्व र परम्पराअनुसार संस्कृतिको मौलिकता अहिले हराउँदै गएको छ । चाडपर्वको नाममा बेथिति फैलिएको छ । त्यस्तै, पहिलापहिला कोही नचिनेको मान्छे आफ्नो घरमा आइहाले मानिसहरु खाना, लाउनको व्यवस्था गर्थे । राम्रो व्यवहार गर्थे । शिष्ट बोल्थे । सहयोग गर्थे । अहिले अधिंकाश घर भाडामा लगाइएको छ । प्रायःजसो मानिसहरु डेरामा बस्छन् । तर, यहाँ घरधनीहरु खाना नसकेर टोकरी भरी मिठामिठा खानेकुरा फाल्छ, त भाडामा बस्नेहरु पैसा नभएर भोकभोकै बस्छन् । अहिले पनि अधिंकाश बालबालिका, ज्येष्ठ नागरिक र अपांग तथा अशक्तहरु सडकपेटीमा मागेर बस्छन् ।

उनीहरु मागेर नै जीविकोपार्जन गर्ने गर्छन् । कसैले केही दियो भने खान्छन् त दिएन भने खादैँनन् । केही महिनाअघि चावहिलमा एक महिलाको सुनको सिक्रीका कारण दिउँसै विभत्स हत्या भयो । यता, बेरोजगारी, गरिबीको समस्या झिलिरहेका छन् हत्यारा युवक पनि जेल गए । केही दिनअघि मात्र काठमाडौंको तीनकुनेस्थित सानो निहुँका कारण चार जनाको हत्या भयो । अहिले धनी तथा भ्रष्टाचारीहरुले गरिबलाई जे भनेपनि हुन्छ, जे गरेपनि हुन्छ । गरिब न्यायका लागि लड्नुपर्दा पनि आवश्यकताको कुरा आउँछ । राजनीतिक पहुँचको कुरा आउँछ । यसले गर्दा उनीहरु न्याय खोज्नुभन्दा त्यस्ता व्यक्तिको हत्या गरेर जेल जान रुचाउँछन् । सरकारले पनि न्यायलाई व्यापार बनाएको छ ।

पीडितलाई न्याय दिलाउने कानून व्यवसायी र न्यायालय पैसामा फसेको छ । जताततै राजनीतिक दबाब छ । अहिले एकथरी मानिसले दलाली काम गरेर, भ्रष्टाचार, ठगी गरेर अर्बोको सम्पत्ति जोडेको छ त अर्काथरी मानिसलाई बिहानबेलुकाको छाक कसरी टार्ने भन्ने चिन्ता छ । धनी र गरिबबीचको खाडल बढ्दै गएको छ । धनीहरुले गरिबमाथि शोषण गर्न छोडेका छैनन् । अहिले बजारमा आर्थिक मन्दी छ । धेरै मानिसहरु बेरोजगार छन् । जसले गर्दा गरिबीको संख्या बढ्दो क्रममा छ । काम गरेको ठाउँमा पनि तलब नदिएपछि मानिसहरु हिंसातर्फ मोडिएका छन् । जसले गर्दा चोरी, ठगी, हत्याजस्ता अपराध बढ्दो क्रममा छन् र अब झन् बढिरहने छ । मानिसले भोक सहन सक्दैन ।

मानिस लुगा नलगाएर हिँड्न सक्छ । स्वास्थ्य, शिक्षा नभए पनि बाँच्छ । तर, भोक सहन सक्दैन । भोक वा आफ्नो पेट पाल्न नै मानिसहरु ठगी, लुटपाट, हत्या, हिंसामा संलग्न हुने गर्छन् । आर्थिक अवस्था कमजोर भएर सडक जीवन बिताइरहेका मानिसहरु सडकमै हात थापेर मागेर बस्छन् । उनीहरु ठगी, लुटपाट वा चोरी गर्दैनन् । तर, सडकमा माग्दा समेत कसैले नदिए उनीहरु फोहोरमा फ्रयालेका खानेकुरा टिपेर खान्छन् । त्यँही सुत्छन् । त्यस्ता व्यक्तिलाई हामी मानिसहरु भने पागलको संज्ञा दिन्छौं । त्यस्ता व्यक्तिलाई हेर्न समेत हामीलाई लाज लाग्छ । केही गरी नजिक आइहाले त्यस्ता व्यक्ति हामी लौरो बोकेर वा मुखमा आएजति सबै शब्द वा अपशदको प्रयोग गरेर उनीहरुलाई भगाउँछौं, पिट्छौं ।

राज्यले पनि त्यस्ता व्यक्तिलाई हेला नै गर्छ । न जन्मदर्ता दिन्छ न नागरिकता । अनि उनीहरुले काम गरोस् पनि त के ? भनिन्छ, कुकुर जहाँ जन्मिछ, त्यहीँ मर्छ । कुकुरले राति चोर आए पनि आफु बसेको समाजको सुरक्षा गर्छ । त्यस्तै, भुकुम्प आउँदा पनि सबैभन्दा अगाडि कुकुरले नै थाहा पाउँछ । जो व्यक्ति सडकपेटीमा मागेर खान्छ, ऊ रातभर सडकमा नै बस्छ । यसले गर्दा त्यहाँ चोरी हुने सम्भावना निकै कम हुन्छ । तर, जो व्यक्तिले अरुलाई ठगेर, भ्रष्टाचार गरेर कमाएको हुन्छ, उसलाई समाजले छुट्टै मान, सम्मान दिन्छ । उसले के–कसरी सम्पत्ति जोड्यो भनेर खोजतलास गर्नुको साटो समाज नै उनीहरुमाथि अन्धो विश्वास गर्दछ । सरकारले पनि उनीहरुलाई नै सम्मान गर्छ, पुरस्कार दिन्छ ।

यसरी आर्थिक अवस्था कमजोर भएर इमान्दारिताका साथ सडकपेटीमा बस्नेहरुले समाज र सरकारबाट घृणा, हेलाबाहेक केही पाउँदैन । तर, जसले अरुलाई ठगेर, लुटेर कमाएको हुन्छ, उसलाई नै समाज र सरकारले सम्मान गर्छ । अहिले नागरिकता बनाउन जानुपर्दा आमाबुबासहित तीन पुस्ता खोतालिन्छ । तर, त्यो व्यक्तिले जोडेको सम्पत्तिमाथि कुनै हस्तक्षेप गरिदिदैँन । त्यसैले, अब सरकारले हरेक नागरिकको सम्पत्ति खोजतलास गर्नुपर्छ । सबैलाई समान व्यवहार गर्नुपर्छ । सानोलाई ऐन, ठूलोलाई चैन हुनेजस्ता कार्य गर्नुहुन्न । बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म बाटोमा हिँड्ने मानिसहरुको अध्ययन गर्नुस् ।

त्यहाँ यस्ता धेरै बालबच्चा भेटिन्छन्, जो १५–१६ वर्षको भए पनि अभिभावकहरुले हात समातेर, भोला बोकिदिएर स्कुलसम्म पुर्याएको देखिन्छ । यता, ४–५ वर्षको आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरु भने झोला नभएर हातमा किताब बोकेर, च्यातिएको कपडा लगाएर विद्यालय जान दौडिरहेको पनि देखिन्छ । अहिले पनि सार्वजनिक सवारीसाधनमा होस् या होटल, रेस्टुरेन्ट । जो व्यक्ति गरिब देखिन्छ, उसलाई बसमा चढ्नुअघि सहचालकले भाडा माग्छ । बिना भाडा बसमा चढ्न दिदैन । यता, होटलमा पनि खानुअघि पैसा मागिन्छ । तर, अलि धनी देखिएका व्यक्तिहरुले पैसा नतिरी भागे पनि सहचालक वा होटल मालिकहरु केही बोल्न सक्दैनन् ।

त्यस्तै, जो मान्छेको छोराछोरी अमेरिका, अस्ट्रेलिया छन्, सरकारी जागिरे छन्, मासिक लाखौं रुपैयाँ घरभाडा उठाउँछन्, उनीहरुले सजिलै ज्येष्ठ नागरिक भत्ता पाउँछन् । तर, जो व्यक्ति आर्थिक अवस्था कमजोर भएको छ, उसलाई भत्ता लिन जाँदा पनि आज र भोलि भनेर अलमल्याइन्छ । पटकपटक बोलाइन्छ अनि फिर्ता पठाइन्छ । अब सरकारले धनी र गरिबबीच विभेद गर्नुहुदैन । हरेक नेपालीको सम्पत्ति छानबिन हुनुपर्छ । अरुलाई ठगेर वा भ्रष्टाचार गरेर आयआर्जन गरिएका सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ । गरिबलाई रोजगारीको व्यवस्था गर्नुपर्छ । हत्या, हिंसाजस्ता अपराधहरु नियन्त्रण गर्नुपर्छ । यदि सरकारले यस्तो कार्य नगरे गरिबले धनीलाई मारेर सिध्याउने छन् । अनि जेल बस्नेछन् ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार १४:०३

लोकप्रिय