सूचनाको शक्ति - The Power Of Information

        

जीर्ण बन्दै बाँके कारागार, क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगन्जस्थित बाँके जिल्ला कारागारको भवन पुनःनिर्माण नहुँदा जीर्ण बन्दै गएको छ । विसं २०२० मा स्थापना गरिएको कारागारमा कैदीबन्दी बस्ने भौतिक पूर्वाधार जीर्ण बन्दै गएकाले सुरक्षाको जोखिम बढेको कारागारका प्रमुख जेलर अर्जुनजंग शाहले जानकारी दिए ।

‘कारागारको संरचना जीर्ण छन् । स्थापना हुँदा बनेका दुई भवन र पर्खाल पुराना भइसकेका छन्,’ उनले भने, ‘जीर्ण भवनमा क्षमताभन्दा बढी कैदीबन्दी भएकाले सुरक्षाको जोखिम बढेको छ ।’ नेपालगन्ज उपमहानगरपालिका–१० स्थित कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी छन् ।

बस्तीको मध्यभागमा कारागार रहेकाले उक्त क्षेत्रका नागरिकमा सुरक्षा चुनौती बढेको छ । ढल निकासको व्यवस्था नभएकोले कारागार वरिपरिको वातावरण दुर्गन्धित छ । ३५० जना अट्ने क्षमता भए पनि हाल ९४६ कैदीबन्दी रहेको जेलर शाहले बताए ।

संविधान दिवसका अवसरमा बुधबार बाँके कारागारबाट १६ कैदीको बाँकी कैद माफी मिनाहा भएसँगै अब ९३० कैदीबन्दी कारागारमा छन् । संविधान दिवसका अवसरमा जिल्ला कारागार बाँकेमा रहेका १६ पुरुष कैदी र जयन्दु बालसुधार गृहमा रहेका सात नाबालकको बाँकी कैद माफी मिनाहा भएको जेलर शाहले जानकारी दिए ।

कैद मिनाहा भएका कैदी चोरी, कर्तव्य ज्यान तथा सवारी ज्यान सम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेको उनले बताए । मुद्दा फैसला नभएका, मुद्दा सुनुवाइका लागि अदालत लैजानुपर्ने थुनुवा, उपचार गराउनुपर्ने बिरामी, र ज्येष्ठ नागरिक कैदीबन्दीका कारण नेपालगन्जस्थित कारागारमा क्षमताभन्दा बढी संख्यामा राख्नुपर्ने बाध्यता रहेको जेलर शाहको भनाइ छ ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार ०९:३६

लोकप्रिय