सूचनाको शक्ति - The Power Of Information

        

एसिया कपमा १० विकेट लिएका सिराज बने नम्बर १ बलर

एसिया कप क्रिकेटकाे फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने भारतीय बलर माेहम्मद सिराज आईसीसीकाे एकदिवसीय वरीयतामा पहिलाे नम्बरमा उक्लिएका छन् ।

एकदिवसीय बलिङकाे वरीयतामा सिराजले ८ स्थान सुधार गरेका हुन् । सिराजले एसिया कपमा १० विकेट लिएका थिए । यस्तै श्रीलङ्कासँगकाे फाइनल खेलमा उनले मात्र २१ रन दिएर ६ विकेट लिएका थिए । फाइनलमा श्रीलङ्का मात्र ५० रनमा आउट भएकाे थियाे । भारतले फाइनल खेल १० विकेटले जितेकाे थियाे ।

सिराज अस्ट्रेलियाका जाेश हेजलवुडलाई पछि पार्दै पहिलाे नम्बरमा पुगेका हुन् । हेजलवुड गएकाे मार्चमा सिराजलाई नै पछि पार्दै एकदिवसीय बलिङ वरीयताकाे पहिलाे नम्बरमा पुगेका थिए । हेजलवुड अहिले दाेस्राे नम्बरमा छन् । तेस्राे नम्बरमा न्युजिल्यान्डका ट्रेन्ट बाेल्ट छन् ।

यस्तै एकदिवसीय ब्याटिङ वरीयताकाे पहिलाे नम्बरमा बाबर आजम छन् । ब्याटिङकाे वरीयतामा दाेस्राे नम्बरमा भारतका शुभमन गिल र तेस्राे नम्बरमा दक्षिण अफ्रिकाका रसी भान डेर डुसेन छन् ।

एकदिवसीय बलिङ वरीयतामा नेपालका सन्दीप लामिछाने यथावत् स्थानमा रहँदा दीपेन्द्रसिंह ऐरी, करण केसी, साेमपाल कामी र ललित राजवंशी १/१ स्थान तल झरेका छन् । नयाँ वरीयताअनुसार दीपेन्द्र ६८, करण ८७, साेमपाल ९३ र ललित ९७ औँ स्थानमा छन् ।

यस्तै ब्याटिङतर्फ आसिफ शेख, राेहित पाैडेल र कुशल भुर्तेल यथावत् स्थानमा छन् । आसिफ ७७, राेहित ८४ र कुशल ९९ औँ स्थानमा छन् ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार १७:२५

लोकप्रिय