सूचनाको शक्ति - The Power Of Information

        

काँग्रेस बाँके क्षेत्र नम्बर २ ले मानव सेवा आश्रममा खाना खुवायो

नेपाली कांग्रेस क्षेत्र नम्बर २ बाँकेले मानव सेवा आश्रममा आश्रितहरुलाई खाना खुवाएको छ । २६औं गणेशमान सिंह स्मृति दिवस र ८औं संविधान दिवसका अवसरमा क्षेत्रीय कार्यसमितिले दिवाकालीन भोजन गराएको हो ।

दिवाकालीन भोजन ग्रहण कार्यक्रम क्षेत्रीय सभापति रमेशकुमार गुप्ताको सभापतित्व एवम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीको प्रमुख आतिथ्यता तथा जिल्ला सभापति नारायणप्रसाद गौडेलको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा उपस्थित अतिथिहरुले नेपालगञ्ज–१० आदर्शनगरस्थित मानव सेवा आश्रममा आश्रितहरुलाई खाना खुवाएका थिए । राजनीतिलाई समाजसेवासंग जोड्दै मानव हित कार्यमा पार्टीलाई अग्रसर गर्न भोजन ग्रहण कार्यक्रम राखिएको क्षेत्रीय सभापति गुप्ताले बताए ।

कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य बाल्मिकीले कांग्रेसको परिकल्पना र अगुवाईमा संविधानसभामार्फत बनेको २०७२ को संविधान संसारकै उत्कृष्ट संविधान भएको बताउँदै यसको व्यवहारिक कार्यान्वयन आवश्यक रहेको बताए । समावेशी र समाजवाद उन्मुख नेपालको संविधान कार्यान्वयनमा राजनीतिक दलहरु गम्भीर बन्नुपर्ने उनको भनाई छ ।

पार्टी सभापति गौडेलले संविधान कार्यान्वयनको अहिलेसम्मको अवस्थाको समीक्षा गर्दै अपूरा कार्यलाई पूर्णता दिने संकल्प गरेर अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताए । राष्ट्रिय सभा सदस्य एवम् पूर्व पार्टी सभापति युवराज शर्माले अहिलेको संविधानले दलहरु बीचको मेलमिलाप र एकतालाई जोड दिएको बताए ।

प्रदेशसभा क्षेत्र नम्बर २(ख) का सभापति जितेन्द्रबहादुर हमालले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा जिल्ला उपसभापति गोपालप्रसाद अधिकारी, सहसचिव रेणुसिंह ठाकुर, क्षेत्र नम्बर २(क) का सभापति एवम् जिल्ला समन्वय समिति संयोजक ज्ञानेन्द्रकुमार चौधरी लगायत नेता कार्यकर्ता उपस्थित थिए । कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव प्रदिप साहले गरेका थिए ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार १७:०५

लोकप्रिय