सूचनाको शक्ति - The Power Of Information

        

‘हनी ट्रयाप’मा ‘पेशेवर’ समूह नै सक्रिय !

काठमाडौंका एक व्यापारी एक साताअघि एउटा बैंक पुगेका थिए । काम सकेर बैंकबाट निस्किने क्रममा ४५ वर्षका ती व्यापारीको नजर रिसेप्सनमा पर्यो । रिसेप्सनमा एउटा युवती थिइन् ।

युवतीलाई देख्नेवित्तिकै व्यापारी नजिकिन खोजे । उनलाई कफी खाने प्रस्ताव राखे । ती युवतीले प्रस्ताव स्वीकार गरिन् । नम्बर आदान–प्रदान भयो । एक साँझ दुबै कफी खान बसे । अर्को दिन व्यापारीले एउटा अपार्टमेन्टमा बोलाए ।

त्यहाँ बसेर ‘गुड फ्राइडे’ मनाउने भन्दै दुबैले वाइन पिए । दुबैबीच सहमतिमै शारीरिक सम्बन्ध भयो । युवती आफ्नो गन्तव्यतिर लागिन् । व्यापारीलाई बिहान साढे ५ बजे मोबाइलमा एसएमएस आयो, १० लाख रुपैयाँ ठिक पार्नू ।

नत्र प्रहरीमा गएर बलात्कारको निवेदन दिन्छु । अघिल्लो दिन युवतीसँग ‘मस्ती’ गरेका व्यापारी छाँगाबाट खसेजस्तै भए । प्रहरीमा निवेदन पर्नुअघि रकमको ‘बार्गेनिङ’ हुन थाल्यो । व्यापारीले ती युवतीलाई पाँच लाख रुपैयाँ दिएर निवेदन नदिन मनाए ।

युवतीलाई पैसा बुझाएपछि व्यापारी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा गुहार माग्न पुगे । प्रहरीले उनलाई ‘केही गर्न नसक्ने’ भनेर फर्काइदियो । किनकि, शारीरिक सम्बन्धसम्म पुग्ने परिस्थिति व्यापारीले नै निम्त्याएका थिए ।

घटनामा पीडित युवती नै देखिने भइन् । युवतीले रकम असुलिएको घटनामा उनलाई कारबाही गर्न भने सकिन्थ्यो । मुलुकी फौजदारी अपराध संहिता अनुसार सहमतिमै शारीरिक सम्पर्क भए पनि महिलाले जबरजस्तीको उजुरी दिएको खण्डमा पुरुषलाई अनुसन्धानका लागि पक्राउ गर्नुपर्ने हुन्छ ।

यति भनेपछि व्यापारी पन्छिए । काठमाडौंकै एक जना धनाढ्य परिवारका युवा एउटा एलओडी क्लब पुगेका थिए । मदिराले लठ्ठ ती युवाले एलओडीमा एउटी किशोरी देखे । नजिकिने क्रममा युवाले सिधै शारीरिक सम्बन्धका लागि प्रस्ताव राखे । युवती तयार भइन् ।

उनीहरू एउटा होटल पुगे । मदिराले लठ्ठ युवा र किशोरीबीच सम्बन्ध भयो । किशोरीले झुक्याएर भिडिओ खिचेकी रहिछन् । उनले भोलिपल्टदेखि युवालाई फोन गर्न थालिन् । उनले आफूलाई बलात्कार गरेको उजुरी हालिदिने भन्दै पाँच लाख रुपैयाँ माग्न थालिन् ।

अन्तिममा युवा दुई लाख रुपैयाँ दिन तयार भए । ती किशोरी १८ वर्षभन्दा कम उमेरकी थिइन् । किशोरीबाट पीडित भएको भन्दै उनी पनि प्रहरीमा पुगेका थिए । न्याय माग्दै आए पनि युवा नै दोषी देखिन्थे । १८ वर्षभन्दा कम उमेरकी युवतीसँग शारीरिक सम्बन्ध राख्ने पुरुषलाई अपराध संहिताले दोषी मान्छ ।

कुरा ६–७ महिनाअघिको हो । एउटी युवती जागिर खोज्ने सिलसिलामा एक जना व्यापारीकहाँ पुगिन् । जागिर खान आएकी युवतीसँग नजिकिने क्रममा ती व्यापारी पनि ‘हनी ट्रयाप’मा परे । अन्ततः उनले पनि त्यसरी नै रकम तिर्न बाध्य भए । यी प्रतिनिधिमुलक घटना हुन् ।

हिजोआज काठमाडौंमा प्रत्यक्ष भेटघाट वा सामाजिक सञ्जालमार्फत् युवतीहरू धनाढ्य व्यक्तिसँग नजिकिने, अन्तिममा शारीरिक सम्बन्ध स्थापित गर्ने र बार्गेनिङ गरी रकम असुल्ने धन्दामा सक्रिय छन् । यस्तोमा विवाहित पुरुष बढी पीडित हुने गरेका छन् ।

घरपरिवारमा घटना थाहा हुने डरले उनीहरू हत्तपत्त रकम दिन तयार भइरहेका हुन्छन् । ‘हाम्रोमा गुनासो लिएर आइरहेका हुन्छन्, यस्तो केसमा पीडित पुरुषहरू नै देखिन्छन्,’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौर भन्छन् ।

उनका अनुसार काठमाडौंमा ‘हनी ट्रयाप’मा पर्नेहरूको संख्या बढ्दै गएको छ । तीन सातामा मात्रै सात जना पुरुषहरू यस्तो गुनासो लिएर आएको उनले बताए । पछिल्लो ६–७ महिनामा ३०–४० जना पुरुषहरू ‘हनी ट्रयाप’बाट पीडित भएको भन्दै प्रहरीमा आउने गरेका छन् ।

उनका अनुसार त्यसरी पुरुषहरूसँग नजिकिने, खानपिनमा बस्ने र अन्तिमा शारीरिक सम्बन्धपछि रकम बार्गेनिङ युवतीहरूको ‘पेशेवर’ समूह नै सक्रिय छ । ‘उनीहरू यौनकर्मी होइनन्, छोटो समयमा ठूलो रकम हात पार्नका लागि यस्तो खाले गतिविधिमा उनीहरूको संलग्नता देखिन्छ,’ उनले भने ।

युवतीहरूलाई खटाउने पुरुष समूह रहेको आशंका प्रहरीको छ । त्यसबापत् उनीहरू कमिशन बुझ्छन् । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार यस्तो समूहबाट सचेत रहनु नै सम्भावित जोखिमबाट बच्नु हो ।

‘कोही अपरिचित युवतीले बोलाइन्, सामाजिक सञ्जालमा अपरिचित जोडिन आयो, नजिकिन खोज्यो भने सचेत रहनुपर्छ,’ उनले भने, ‘नजिकिएर मोजमस्तीमा रमाउन खोजे तनाव व्यहोर्नुपर्ने र धनराशी खर्च गर्ने अवस्था आउँछ भन्ने देखियो ।’

रेग्मीका अनुसार अहिलेसम्म ‘हनी ट्रयाप’मा परेका व्यक्तिहरू धनाढ्य छन्, ठेकेदारहरू छन् । अनुसन्धान कार्यालयले यस्तो कार्यमा संलग्न समूहको खोजी गरिरहेको छ । तर, कानुनले जो पीडित छन् उसैलाई परिबन्धमा पारिदिने भएकाले प्रहरीलाई कारबाही गर्न गाह्रो रहेको उनी बताउँछन् ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार १५:३९

लोकप्रिय