सूचनाको शक्ति - The Power Of Information

        

रामदेवले प्रकाश सपुतलाई तीन खानभन्दा ठूलो स्टार भनेपछि…

भारतीय योगगुरु रामदेवले नेपाली गायक तथा अभिनेता प्रकाश सपुतलाई सलमान, शाहरुख र आमीर खानभन्दा पनि ठूलो स्टार भएको बताएका छन् ।

पतञ्जली योगपीठले नयाँ दिल्लीको इन्दिरा गान्धी स्टेडियममा आयोजना गरेको कार्यक्रममा सांगीतिक प्रस्तुति दिन गएका सपुतलाई रामदेवले उनी नेपालका लागि सलमान, शाहरुख र आमीरभन्दा पनि ठूलो स्टार भएको बताएका हुन् ।

सपुतलाई अंगालो हाल्दै रामदेवले नेपालका ठूला स्टारको रुपमा चिनाएका थिए । त्यस्तै उनले संसारभर नेपाली समाजको गौरव बढाउन पनि सपुतलाई शुभकामना दिए । सपुतले पनि सो प्रस्तुतिपछि यो सफलता आफ्नो लागि अमूल्य रहेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दर्शकहरुमाझ पुग्नुको आनन्द अरु केहिसँग तुलना हुन सक्दैन । पछिल्लो चार वर्ष मैले देशविदेशमा छरिएर रहनुभएका नेपालीहरुको अथाह माया प्रत्यक्ष महशुस गर्न पाएको छु । एउटा गायकर–कलाकारका रुपमा गीत र भिडियो मार्फत र एउटा पर्फमरका रुपमा स्टेजमार्फत आफ्नो क्षमता र क्षेत्र अनुसारको यो सफलता मेरो लागि अमूल्य छ, अकल्पनीय छ ।’

सपुतको जाले रुमाल फाट्यो अहिले युट्युब ट्रेन्डिङको एक नम्बरमा छ भने भर्खरैमात्र नारायण रायामाझी निर्देशित फिल्म परदेशी २ को गीत सार्वजनिक भएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार १४:४७

लोकप्रिय