सूचनाको शक्ति - The Power Of Information

        

काठमाण्डौमा आजदेखि द्रुत बस चल्ने

काठमाण्डौमा आजदेखि द्रुत बस सेवा सञ्चालन हुँदैछ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय र यातायात व्यवस्था  विभागले संविधान दिवसको अवसर पारेर द्रुत बस सञ्चालन गर्न लागेका हुन् । द्रुत बस सेवा सञ्चालका लागि सम्पूर्ण तयारी पूरा भएको विभागले जनाएको छ ।

द्रुत बसको शुभारम्भ रत्नपार्कबाट गर्ने तयारी छ । द्रुत बस सञ्चालन हुने रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म सडकमा डेडिकेटेड लेन छुट्याइएको छ । सडकमा रातो रङले डेडिकेटेड लेन नै छुट्याइएको छ ।

द्रुत बस सञ्चालन हुने समयमा अत्यावश्यकबाहेकका गाडी यो लेनमा प्रवेश गर्न नपाउने विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले बताउनुभयो । तर एम्बुलेन्स, शववाहन, दमकल, कर्मचारी बोक्ने बस भने यो लेनमा चलाउन पाइने छ।

अहिलेलाई पिक आवर बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म द्रुत बस सञ्चालन हुनेछ । आज दुई वटा बस सञ्चालन हुनेछ र भोलिदेखि बस थप गरी नियमित सञ्चालन हुने प्रवक्ता पनेरूले जानकारी दिनुभयो । ट्राफिक व्यवस्थापनका साथै यात्रुको  सुविधाका लागि द्रुत बस सञ्चालन गर्न लागिएको हो ।

रत्नपार्क–सूर्यविनायक  सडकमा नमुनाकारूपमा सञ्चालन गरिए पनि बिस्तारै द्रुत बस सेवा विस्तार गरिने विभागले जनाएको छ । द्रुत बस सेवा सञ्चालनका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको  सहकार्यमा विभागले २५ वटा ठूला बसको व्यवस्थापन गरेको छ । विभागका अनुसार रातो बत्ती बलेका बेलामा पनि द्रुत बस रोकिने छैनन्  ।

त्यस्ता बस एम्बुलेन्स तथा अत्यावश्यक गाडी जस्तै गुड्ने छन् । सूर्यविनायकदेखि रत्नपार्क ४५ मिनेटमा नै पुग्न सकिनेछ । द्रुत बसका लागि रत्नपार्कदेखि सूर्यविनायकसम्म १९ ठाउँमा स्टप तोकिएको छ ।

रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, कोटेश्वर जडीबुटी, कौशलटार, गट्ठाघर र सूर्यविनायकलगायत यात्रुको चाप हुने स्थानमा बसस्टप तोकिएको छ ।

यसबाट सार्वजनिक गाडीको प्रयोगमा प्रोत्साहन हुने र निजी गाडी प्रयोगको सङ्ख्या घट्ने  विभागको  अपेक्षा छ । यसले सडकमा जाम केही कम हुने विश्वास छ ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार ०७:३६

लोकप्रिय