सूचनाको शक्ति - The Power Of Information

        

राप्तीसोनारीमा लुटपाट गर्ने शङ्कास्पद तीनजना पक्राउ

बाँकेको राप्तीसोनारी गाउँपालिका–७ भगरा गाउँमा लुटपाट मच्चाउने तीन जना शङ्कास्पद व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

गत आइतबार राति गाउँमा लुटपाट मच्चाउने तीन जना शङ्कास्पद व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

“आइतबार राति उक्त गाउँमा पुगी लुटपाट मच्चाएको आशङ्कामा तीन जना शङ्कास्पद व्यक्तिलाई पक्राउ गरेका छौँ, उनीहरूबाट लुटिएको सामान फेला परेको छैन, सोधपुछ र अनुसन्धान गर्दैछौं ।” प्रहरी प्रवक्ता डाँगीले भने ।

राप्तीसोनारी गाउँपालिका–७ भगरा गाउँमा गत आइतबार राति हतियारसहित आएको १०–१२ जनाको समूहले स्थानीय धनबहादुर लामिछाने मगर र ओमप्रकाश मालीको घरमा लुटपाट गरेको राप्ती सोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारुले जानकारी दिए ।

उनका अनुसार राति करिब १२ बजे आएको लुटेराको समूहले भगरा गाउँका दुई परिवारका घरमूलीलाई बाँधेर करिब दुई तोला सुन, तीन किलो चाँदी, दुई लाख ५० हजार नगद, दुई वटा खसी र एउटा बोका लुटेर लगेका थिए ।

राति नै प्रहरीलाई खबर गरे पनि समयमै नपुगेका कारण लुटेराहरू सजिलै भागेको पीडित धनबहादुर लामिछाने मगरले बताए ।

राप्ती नदी तटीय क्षेत्रमा रहेको भगरा गाउँ राप्तीसोनारी गाउँपालिका–७ को विकट क्षेत्रमा पर्दछ । फत्तेपुर प्रहरी चौकीको कार्यक्षेत्रमा पर्ने भए पनि भगरा गाउँ डुडुवा गाउँपालिकास्थित बेतहनी प्रहरी चौकीबाट नजिक पर्ने वडाध्यक्ष थारुले जानकारी दिए ।

२०–३० वर्ष उमेर समूहका लुटेराहरूले लुटपाट मच्चाएपछि अहिले भगरागाउँवासी त्रसित भएको स्थानीयवासी सुनकुमार घर्तीले बताए । गाउँमा अज्ञात समूहले लुटपाट मच्चाएपछि स्थानीयवासीले सुरक्षाको माग गरेका छन् ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलवार १५:५३

लोकप्रिय