सूचनाको शक्ति - The Power Of Information

        

नेपाली मुद्रा अहिलेसम्मकै कमजोर अवस्थामा

नेपाली मुद्रा डलरको तुलनामा अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ । पछिल्लो समय नेपाली मुद्रा लगातार ओरालो लागिरहेकोमा मंगलबार नेपाली मुद्रा अमेरिकी डलरको तुलनामा सबैभन्दा कमजोर बनेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलर खरिद गर्नका लागि १ सय ३३ रुपैयाँ ५४ पैसा तिर्नुपर्ने अवस्था छ । अर्थात नेपालमा अमेरिकी एक डलरको मूल्य नेपाली १ सय ३३ रुपैयँ ५४ पैसा पुगेको हो ।

डलरको यो मूल्य हालसम्मकै उच्च हो भने नेपाली पैसा हालसम्मकै कमजोर बनेको हो । खासगरी नेपाालमा डलरको मूल्य घटबढ हुनुमा भारतीय बजारको प्रत्यक्ष प्रभाव रहन्छ । नेपाली मुद्रा भारतीय मुद्रासँग स्थिर विनिमय दरका कारण भारतीय मुद्राको अवमूल्यन हुँदा त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा पनि पर्छ ।

पछिल्लो केहि समय भारतमा तरकारी, तेलहन लगायतको उत्पादनमा उच्च गिरावट आएपछि भारतले आयातको मात्रा बढाएको छ । जसका कारण भारतमा हाल आयात वृद्धि भएपछि डलरको मूल्य पनि उकालो लागेको हो । यसरी भारतीय बजारमा डलरको मूल्य बढ्दा भारतीय मुद्राको अवमूल्यन भएको छ ।

यसरी भारतीय मुद्राको अवमूल्यन भएसँगै नेपाली मुद्रा पनि अवमूल्यन हुन गएको राष्ट्र बैंकका एक अधिकारी बताउँछन् । गत बर्ष विश्व बजार प्रवृत्ति र अमेरिकी फेडरल रिजर्भ बैंकको ब्याजदर वृद्धिका कारण डलर बलियो बनिरहँदा विश्वभरका धेरै मुद्राहरु कमजोर भएका थिए । हाल भने फेडरल रिजर्भ बैंकको ब्याजदरभन्दा पनि भारतीय बजारको असरका कारण नेपाली मुद्रामा असर परेको ति अधिकारीले बताएका छन् ।

यसले नेपालजस्तो आयातमा निर्भर देशको अर्थतन्त्रमै प्रत्यक्ष असर पर्ने विज्ञहरु बताउँछन् । नेपालले बढी पैसा खर्च गरेर डलर खरिद गर्ने र सोही डलरले विदेशी वस्तु खरिद गनुपर्ने अवस्था छ । डलरको मूल्य बढ्दा आयातित वस्तुको मूल्यसँगै ढुवानी खर्च, करलगायतमा पनि वृद्धि हुन्छ । तसर्थ डलरको मूल्य बढ्नुको प्रत्यक्ष सम्बन्ध उपभोक्ताको खल्तीसँग हुन्छ । अर्थात आयातित वस्तुको मूल्य बढ्दा त्यसको प्रत्यक्ष रुट असर नै उपभोक्तासँग हुने भएपछि डलरले सर्वसाधारणलाई मारमा पार्ने निश्चित छ ।

तर, विदेशमा गई डलर आर्जन गरी नेपालमा पठाउनेहरुलाई भने यसले फाइदा पुर्याउँछ । उनीहरुले रेमिटयान्सका रुपमा पठाउने रकम डलरमा हुने भएकाले डलरको मूल्य बढ्दा रेमिटयान्सबाट फाइदा हुने गर्छ । यस्तै यसले विदेशमा गई पढ्ने नेपाली विद्यार्थीलाई पनि ठूलो असर पुर्याउने विज्ञहरु बताउँछन् । नेपालबाट विदेश जाने नेपाली विद्यार्थीले डलर लैजाँदा बढी मूल्य तिरेर सटही सुविधा लिनुपर्ने हुन्छ ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलवार १२:३६

लोकप्रिय