सूचनाको शक्ति - The Power Of Information

        

पहिरोले दुई विद्यालय भवन जोखिममा

बझाङको केदारस्यूँ गाउँपालिका–६ स्थित रोतागणामा रहेको भूमिदेव आधारभूत विद्यालयको भवन पहिरोको जोखिममा । अविरल वर्षाका कारण विद्यालयको फिल्ड पहिरोले बगाएपछि भवन जोखिममा परेको हो । तस्वीर : रमेश केसी । रासस

पहिरोको कारण बैतडीका दुई विद्यालय भवन जोखिममा परेका छन् । दशरथचन्द नगरपालिका–४ शाहीलेकस्थित वीरेन्द्र मावि र पाटन नगरपालिका–४ कल्तडी स्थित नवदुर्गा आधारभूत विद्यालय पहिरोको जोखिममा रहेका हुन् ।

विद्यालयको भवन पछाडिबाट पहिरो खसेकाले विद्यालय भवन पहिरोको जोखिममा परेको वीरेन्द्र माविका प्रधानाध्यापक कैलाशकुमार कनौजियाले जानकारी दिए । पहिरोका कारण छात्र शौचालय, प्रशासनिक भवन र पुस्तकालय बढी जोखिममा परेको हो ।

उनले भने, ‘पहिराले भवन जोखिमका साथै शौचालय जाने बाटो भत्काएको छ । विद्यार्थीलाई शौचालय प्रयोगमा समेत समस्या भएको छ ।’ विद्यालय भवन तलतिर खसेको पहिरो रोकथामका उपाय अपनाउन नसके थप समस्या निम्तिने अवस्था रहेको बताइएको छ ।

विद्यालय भवन पहिराको जोखिममा परेको विषयमा प्रहरी मुचुल्कासहित जिल्ला प्रशासन कार्यालय, पूर्वाधार विकास कार्यालय र सामाजिक विकास कार्यालयमा जानकारी गराइसकिएको विद्यालयले जनाएको छ ।

कक्षा १२ सम्मको पढाइ हुने सो विद्यालयमा अहिले साढे ५०० विद्यार्थी अध्ययनरत रहेका छन् । यस्तै जिल्लाको पाटन नगरपालिका–४ कुणी कल्तडीमा रहेको नवदुर्गा आधारभूत विद्यालयको दुईकोठे भवन पहिराको जोखिममा परेको छ ।

उक्त विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदमसिंह विष्टका अनुसार अविरल वर्षाका कारण विद्यालयको सुरक्षाका लागि लगाइएको पर्खाल भत्किएकाले जोखिम बढेको हो । कक्षा ८ सम्मको पढाइ हुने नवदुर्गा आधारभूत विद्यालयमा १५० विद्यार्थी अध्ययनरत छन् ।

सुदूरपश्चिमका दुई जिल्ला सञ्चारविहीन

सुदूरपश्चिम प्रदेशका पहाडी दुई जिल्लाको सञ्चार सेवा अवरुद्ध भएको छ । सोमबार दिउँसो डडेल्धुरामा अप्टिकल फाइबर काटिँदा बैतडी र दार्चुलाको सञ्चार सेवा अवरुद्ध भएको हो । वर्षापछि रुख ढलेर अप्टिकल फाइबर काटिँदा सञ्चार सेवा अवरुद्ध भएको नेपाल टेलिकम बैतडीका प्रमुख सजित प्याकुरेलले बताए ।

सोमबार दिउँसोदेखि अवरुद्ध टेलिकमको सेवा अझै सञ्चालन हुन सकेको छैन । सञ्चार सेवा अवरुद्ध भएपछि यहाँका सरकारी तथा गैरसरकारी सङ्घसस्था, सञ्चारमाध्यम, वित्तीय कारोबार गर्ने सहकारी तथा बैंक र स्थानीय तहको सेवा प्रवाहमा समस्या आएको छ । मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द हुँदा समस्या भएको सुर्नयाका स्थानीय केशव भट्टले बताए ।

अवरुद्ध सञ्चार सेवा सञ्चालनका लागि कैलालीको अत्तरियाबाट प्राविधिकको टोली खटिएको नेपाल टेलिकम बैतडीका प्रमुख प्याकुरेलले बताए । उनले भने, ‘अप्टिकल फाइबार मर्मतका लागि अत्तरियाबाट प्राविधिक टोली खटिएको छ । पानी परिरहेकाले केही ढिलाइ भएको छ । छिट्टै समस्या समाधान हुन्छ ।’

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलवार ११:४१

लोकप्रिय