सूचनाको शक्ति - The Power Of Information

        

दशैँको मुखमा घुमुवा आतंक

मुलुकको अर्थतन्त्र धराशयी भएको बेला मुलुकको प्रमुख भन्सार नाका रहेको वीरगञ्जमा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैको मिलेमतोमा अबैध कारोवार एवं तस्करी मौलाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी हेडक्वाटर १३ नम्बर गणको मिलोमतोमा ड्राईपोट भन्दा पश्चिमपारीको सबै नाकाहरूबाट तस्करी लाइन खुलाएर तस्करीलाई सहजीकरण गर्न थालिएको स्रोतले बताएको छ ।

प्रहरीले पर्सा सदरमुकाम छेवछाव क्षेत्रबाट पनि केही तस्करहरूलाई लाइन दिएको भए पनि ठूलो लाइन ग्रामिण इलाकाबाटै अहिले सुचारु गर्न दिएको स्रोतको दावी छ । जिल्ला प्रहरी कार्यालय पर्साका एसपी कोमल शाहको घुमुवाका रुपमा रहेका केही प्रहरी कर्मचारीले तस्करीको लाइन खुलाउन थालेका हुन् ।

विगतमा शेरबहादुर देउवाको सुरक्षा गार्ड बसेका शाह आरजु राणाकै दबाबमा गत माघमा पर्सा सरुवा भएका थिए । उनले सुरुमा केही राम्रो गर्न खोजे पनि त्यहाँ हुण्डी व्यवसायीसँग भने घनिष्ट सम्बन्ध स्थापित गरिसकेको स्रोतले बताएको छ ।

पर्सा प्रहरीले स्थानीय बुद्धिजिवी, नागरिक समाज एवं पत्रकारलाई झुक्याउने गरी सदरमुकाम आसपासको क्षेत्रमा तस्करी नियन्त्रणमा कडाई गरेको नाटक गर्ने गरेपनि हुण्डी कारोवारीलाई संरक्षण गरेको छ । विगतमा त्यहाँ बसेका बेलबहादुर पाण्डेले एक हुण्डी कारोबारीसँग कारोवार गरेको विषयमा अहिले प्रहरी प्रधान कार्यालयले छानबिन गरिरहेको छ ।

पर्साको भिस्वा, बन्जारी, मिर्जापुर, जानकी टोला, अमरपट्टी, प्रसौनी, पहकाँ मैनपुर, सवैठवा, धोरे, ठोरी लगायताको क्षेत्रबाट ठूलो परिमाण प्रहरीले तस्करीको लाइन खुलाउन जिप्रकाबाटै घुमुवा खटिएको स्रोतको दावी छ ।

सशस्त्र प्रहरी गुल्म सवैठवाका प्रमुख डिएसपी केशवराज ओलियाको मातहतमा भिस्वा मिर्जापुरबाट भैंसी, धान, गहुँ, कुखुराको चल्ला, माछा, किराना, काजु, लताकपडा लगायतको ठूलो परिमाणमा तस्करी भइरहेको स्रोतले जनाएको छ ।

धोरे नाका हुँदै रातीको समयमा प्रहरीले ठूलो परिमाणमा भैसी र राँगाको तस्करी गराउन सहयोग गरेको स्रोतले बताएको छ । रातीको समयमा गोरेटो बाटो र खेत भएर भैँसीराँगा भित्रयाउँदा स्थानीयहरूको धानवालीसमेत नष्ट हुने गरेको छ ।

त्यसैगरी मिर्जापुरबाट धान गहुँ, भैँसी, किराना आइटम र कस्मेटिक लगायतको समाग्रीहरूको भारीमात्रामा तस्करी भइरहेको छ । तस्करहरूले गहुँ र धानको तस्करी गर्नेहरू बोराभित्र कपडासमेत लुकाएर नेपाल ल्याउने गरेका छन् ।

त्यसैगरी बिओपी मिर्जापुर प्रमुख सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र मल्ल र बन्जारी बिओपीका सशस्त्र प्रहरी निरीक्षक विष्णुहरि थापाको कमाण्डमा तस्करी मौलाएको छ भने, सशस्त्र प्रहरी गुल्म भिखमपुरको कमाण्डमा भारतीय सिमापारीको बजार भंगहा, इनर्वा, महादेवपट्टी लगायतबाट नेपालमा अबैध रुपमा मालसमान आइरहेको छ ।

हरेक नाकाबाट हुने गरेको तस्करीमा नेपाल प्रहरीलाई पनि भाग आउने गरेको कारण नेपाल प्रहरीका प्रमुखसहितका घुमुवाहरू सहयोगी बनिरहेका छन् । तस्करीहरूले डिल गरेको रकम घुमुवामार्फत नेपाल प्रहरी र सशस्त्र प्रहरीले असुली गर्ने गरेका छन् ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलवार १०:११

लोकप्रिय