सूचनाको शक्ति - The Power Of Information

        

यौनहिंसामा फसे एसएसपी योगबहादुर

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले यौनहिंसा गरेको ठहर भएको छ । सो विषयमा छानबिन गर्न बनेको समितिले महिला हिंसा गरेको ठहर गर्दै प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई प्रतिवेदन बुझाएको छ ।

प्रहरी प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक (डीआइजी) सुरेन्द्र मैनाली नेतृत्वको छानबिन समितिले एसएसपी पालले यौनहिंसा गरेको निष्कर्ष निकाल्दै प्रतिवेदन बुझाएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । सो प्रतिवेदन अहिले प्रहरी प्रधान कार्यालयको कानुन शाखामा पुगेको छ ।

कानुन शाखाले प्रतिवेदन अध्ययन गरिसकेपछि बल्ल पालमाथिको कारबाही प्रक्रिया अघि बढ्ने बताइएको छ । छानबिन समितिले प्रहरी आचारसंहिता तथा प्रहरी नियमावलीविपरितको काम गरेको, आफ्नै सहकर्मी महिलालाई यौनहिंसा गरेको पुष्टि भएको कुरा प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आफ्नै सहकर्मी महिलामाथि कार्यकक्षमै यौनहिंसा गरेको पुष्टि भएपछि बर्खास्तसम्मको प्रस्ताव गर्दै प्रतिवेदन पेस गरिएको छ । छानबिनको क्रममा विभिन्न व्यक्तिसँग सोधपुछ गर्दा तथा पीडित स्वयं महिलासँग सोधपुछ गर्दा यौनहिंसा गरेको पुष्टि भएको समितिले उल्लेख गरेको छ । समितिले गरेको तीन महिना लामो अनुसन्धानका क्रममा यौन हिंसाको पुष्टि भएको हो ।

सुदूरपश्चिमको महेन्द्रनगरस्थित प्रहरी कार्यालयमा कार्यरत एसएसपी पालले बिदा मागेकी एक महिला सहायक हवल्दारलाई यौन दुव्र्यवहार गरेका थिए । एक महिला हवल्दार घर बिदा स्वीकृत गराएर बिदामा जान लागेकी थिइन् । बिदा स्वीकृत गरेर कार्यालय प्रमुख रहेका एसएसपी पाललाई जानकारी गराइएको थियो ।

त्यसपछि एसएसपी पालले सञ्चार सेटमै गत जेठ १९ गते ती महिला हवल्दारलाई आफूलाई भेट्न पठाइदिनू भन्दै आदेश दिएका थिए । त्यसपछि ती महिला एसएसपी बसेको क्वार्टरमा पुगेकी थिइन् । क्वार्टरमा एसएसपीले महिला हवल्दारलाई भनेका थिए, ‘तिमी मलाई मन पर्यो, आज गुड फ्राइडे मनाऔं ।’ एसएसपीले यस्तो प्रस्ताव गरेपछि ती महिलाले प्रतिवाद गरेकी थिइन् ।

त्यसबारे ड्यूटी अफिसरलाई जानकारी गराएकी थिइन् । पछि उनले प्रदेश प्रहरी कार्यालयमा उजुरी हालेपछि घटना बाहिर आएको थियो । त्यसपछि प्रदेश प्रहरी कार्यालय धनगढीले एसपी श्यामसिंह चौधरीको नेतृत्वमा समिति गठन गरेर छानबिन प्रक्रिया अघि बढाएको थियो । प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान विभागका डीआइजी सुरेन्द्र मैनालीको नेतृत्वमा समिति बनाएर छानबिन प्रक्रिया अघि बढाएको थियो ।

हाल उनी निलम्बनमै रहेका छन् । मैनालीको नेतृत्वमा समिति बनेपछि एसपी र एक महिला डीएसपीलाई दुई साता अघि घटनाबारे बुझ्न महेन्द्रनगर पठाइएको थियो । राष्ट्रिय अनुसन्धान विभाग (राअवि)बाट नेपाल प्रहरीमा सेवा परिवर्तन गरेका पाल महानगरीय प्रहरी वृत्त बौद्धमा कार्यरत रहँदा कारबाहीमा परेका थिए ।

यसबाहेक सोलुखुम्बुको इन्चार्ज भएको बेलामा त पालमाथि गम्भीर आरोप नै लागेको थियो । यौन दुव्र्यवहारसम्बन्धी आरोप लागेपछि उनको जिम्मेवारीसमेत खोसिएको थियो । अहिले फेरि उनीमाथि गम्भीर आरोप लागेको छ । उनी निलम्बन भएको तीन महिना बितेको छ । तर पनि प्रहरी नियमावली अनुसार गरिनुपर्ने कारबाही पनि प्रकृयामा लगिएको छैन ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलवार १०:०६

लोकप्रिय