सूचनाको शक्ति - The Power Of Information

        

सरकारले फेरि थप्यो सहायक रथी यमबहादुर अधिकारीको पदावधि

माओवादीका पूर्वलडाकु एवम् नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारी (प्रतीक्षा)को पदावधि सरकारले तीन वर्ष थपिदिएको छ ।

असोज १ गतेदेखि अवकाशमा जान लागेका अधिकारीको पदावधि अघिल्लो मन्त्रिपरिषद् बैठकको निर्णयबाट थप गरिएको हो । धादिङ घर भएका अधिकारी हाल वन तथा पर्यावरण सुरक्षा निर्देशनालयको निर्देशक पदमा कार्यरत छन् ।

नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले रक्षा मन्त्रालयबाट अधिकारीको पदावधि मन्त्रिपरिषद् बैठकबाट थपिएको जानकारीसहितको पत्र नेपाली सेनालाई प्राप्त भएको जानकारी दिए ।

‘उहाँको विशेष पद सिर्जना गरेर सहायक रथीमा पदोन्नती भएको थियो । चार वर्षे त्यो पदावधि असोज १ गते सकिने भए पनि पुनः तीन वर्ष थपिएको पत्र मन्त्रालयबाट प्राप्त भएको छ,’ सैनिक प्रवक्ता एवम् सहायक रथी भण्डारीले भने ।

यसअघि सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दा अधिकारीको पदावधि थपिएकोबारे जानकारी दिएकी थिइनन् ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलवार ०८:४९

लोकप्रिय