सूचनाको शक्ति - The Power Of Information

        

आज तीजको तेस्रो दिन, पूजा आराधना गरी गणेश चतुर्थी मनाइँदै

आज (मंगलबार), भाद्र शुक्ल चतुर्थी अर्थात् गणेश चतुर्थी । अग्रपूजाको अधिकार प्राप्त बिघ्नहर्ता भगवान् गणेशको पूजाआराधना गरी यो पर्व मनाइँदैछ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ ।

यस अवसरमा मंगलबार काठमाडौं उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेश लगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ ।

शिव–पार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । मंगलबार हरितालिका (तीज)को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको छ ।

भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ ।

बिहान हरितालिका (तीज)को व्रत समापनका लागि पारायण गरी मध्याह्नकालमा गणेशको पूजाआराधना गरी अर्घ्य दिनुपर्ने विधि रहेको छ । यस अवसरमा केही मानिसले भने गणेश चतुर्थीको व्रतसमेत गर्छन् ।

मङ्गल चतुर्थीसमेत भनिने यो पर्व यसपटक भने मंगलबार नै परेको छ । यो पर्वलाई नेवार समुदायले भने चथा नाममा मनाउँछन् ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलवार ०७:४६

लोकप्रिय