सूचनाको शक्ति - The Power Of Information

        

अटो चालकका छोरा सिराजले दिलाएको सफलता, जगाएको आशा

भारतले आठौँ पटक एसिया कप क्रिकेट जित्यो । २०२३ को एसिया कपमा मोहम्मद सिराजको प्रदर्शन ऐतिहासिक रह्यो । सिराजको यो प्रदर्शनको लामो समयसम्म प्रशंसा हुने कप्तान रोहित शर्मा बताउँछन् । फाइनलमा टस जितेपछि पहिले ब्याटिङ थालेका श्रीलंकाली ब्याट्सम्यानहरु सिराजसामु टिक्न सकेनन् ।

सिराजले २१ रन दिएर ६ विकेट लिँदा श्रीलंका ५० रनमै अलआउट भयो । बाँकी तीन विकेट हार्दिक पाण्ड्या र एक विकेट जस्प्रित बुमराहले लिए । म्याचपछि श्रीलंकाली कप्तान दसुन शनाकाले आकाशमा लागेको बादलका कारण फास्ट बलरहरुलाई सहज भएको बताए, उनले सिराजको प्रदर्शन र क्षमताको निकै तारिफ गरे ।

पाकिस्तानका पूर्वकप्तान तथा फास्ट बलर वासिम अकरम सिराजको प्रशंसामा सबैभन्दा अघि सरे । उनले सिराजकै कारण भारत विश्वकपको सबैभन्दा ठूलो दाबेदार टिम रहने बताए । ‘यो भारतीय टिमको शक्तिको प्रदर्शन थियो र यो टिम आफ्नै मैदानमा हुने आगामी विश्वकपका लागि सबैभन्दा ठूलो दाबेदार हो,’ उनले भने ।

मोहम्मद क्याफले सिराजको करियरको पहिलो इनिंग्स सम्झिए । ‘सिराजले यो अद्भूत पारी खेलेको दिन उनले डेब्यूमा ७६ रन दिएर कुनै विकेट लिन नसकेको सम्झनुस् । कसरी राम्रो कमब्याक गर्न सकिन्छ भनेर सिराजले सबैलाई देखाएका छन्,’ उनले भने ।

त्यो गोल्डेन ओभर

खेलको पहिलो ओभरमै जस्प्रित बुमराहको बलमा कुशल परेरा क्याचआउट भएका थिए । दोस्रो ओभर फाल्न सिराज आए । उनले यस ओभरमा कुशल मेन्डिसलाई निकै दबाबमा राखे, जो ट्रेलरजस्तो थियो । म्याचको चौथो तथा सिराजको दोस्रो ओभर एकदिवसीय क्रिकेटका लागि अविस्मरणीय बन्यो ।

पहिलो बलमा सिराजले प्रथुम निस्सांकालाई रवीन्द्र जडेजाको हातबाट क्याचआउट गराए । तेस्रो बल सदीरा समिरविक्रमको प्याडमा लाग्यो र उनी एलबिडब्ल्युको शिकार भए । लगत्तै अर्को बलमा सिराजले चरित असालांकालाई कभरमा खडा भएका ईशान किशनको हातबाट क्याचआउट गराए ।

ह्याट्रिकको संघारमा रहेका सिराजविरुद्ध यसपछिको बलमा धनञ्जय डी सिल्भाले मिड अनबाट बाउन्ड्री लगाए । लगत्तै अर्को बलमा सिराजले धनञ्जयलाई आउट गरे । यसरी यस ओभरमा श्रीलंकाका चार स्टार ब्याटस्म्यान केवल १२ रन बनाए पेभेलियन फर्किए । सिराज यस खेलमा पाँचौ र छैटौं विकेट पनि लिए । बाँकी तीन विकेट हार्दिक पाण्ड्याले लिए ।

५० रनमै समेटिएको श्रीलंकाविरुद्ध भारतले बिना कुनै विकेटको क्षतिमा ६ ओभर १ बलमा जित निकाल्यो । भारतबाट ओपनरद्वय इशान किसनले २३ र शुभम् गिलले २७ रन बनाए । फाइनलमा प्लेयर अफ द म्याच घोषित सिराजले उक्त उपलब्धिबापत प्राप्त नगद पुरस्कार, मैदानको व्यवस्थापनमा खटिनेहरुलाई दान गर्ने घोषणा गरे ।

सिराजको संघर्ष

रातारात स्टार बनेका सिराजको संघर्षको कथा लामो छ । हैदरावादमा सिराजका पिता अटो ड्राइभर थिए । उनकी आमा अन्य मानिसहरुको घरमा काम गर्थिन् । सन् १९९४ मा जन्मिएका सिराज सानैदेखि गल्लीमा आफ्ना साथीहरुसँग क्रिकेट खेल्थे । तर, घर परिवारको आर्थिक अवस्था राम्रो नभएकाले सिराजलाई कहिल्यै क्रिकेट एकेडेमीमा जाने मौका मिलेन ।

सुरुमा उनी ब्याटिङ गर्थे । तर बिस्तारै बलिङ गर्नमा उनलाई मज्जा आउन थाल्यो । सन् २०१५ मा २१ वर्षको उमेरमा उनी रणजी ट्रफी खेल्नका लागि हैदरावादको टिममा छानिए । यो उनका लागि ठूलो उपलब्धि थियो । उक्त प्रतियोगितामा ९ म्याचमा १८.९२ को औसतमा ४१ विकेट लिएर उनी वर्षका उत्कृष्ट तीन ब्याट्सम्यानको सूचीमा परे ।

२०१७ मा रणजी ट्रफीमा गरेको प्रदर्शनकै आधारमा उनको नाम आईपिएलको खेलाडी लिलामी सूचीमा समावेश गरियो । आईपीएलमा सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलोरले उनीमाथि बोली लगाए । यस होडबाजी अन्त्यमा सनराईजर्स हैदरावादले उनलाई किन्यो । यतिबेला सिरिजको बेस प्राइस २० लाख भारु थियो ।

तर उनलाई २ करोड ६० लाख भारु मुल्य मिलेको थियो । यस सिजन आईपिएलको अन्तिम लिग खेलमा उनले सनराईजर्सबाट चार विकेट लिए । अर्को वर्ष रोयल च्यालेन्जर्स बैंगलोरले उनलाई किन्यो र अहिलेसम्म उनी यही टिमबाट लगातार खेलिरहेका छन् ।

टी–२०

आईपिएलमा राम्रो प्रदर्शन देखाउन थालेपछि उनी भारतीय टी–२० टिममा छानिएका थिए । न्युजिल्यान्डविरुद्धको खेलमा उनले आफ्नो करियरको पहिलो अन्तर्राष्ट्रिय विकेट लिए, केन विलियम्सनलाई आउट गरेर । तर, यस म्याचमा उनको प्रदर्शन औसत थियो । त्यसपछि लगातार तीन खेलसम्म यस्तै औसत प्रदर्शनमात्रै देखियो । जसकारण, उनले भारतीय टी–२० टिममा नियमित स्थान बनाउन सकेनन् । अझै सकेका छैनन् ।

एक दिवसीयमा चम्कँदै

सिराज २०१९ मा भारतीय एकदिवसीय टिमका लागि छानिएका थिए । जसप्रित बुमराह र मोहम्मद सामी टिमका मुख्य खेलाडी भएकाले तीनवटा फास्ट बलर चाहिँदा मात्रै सिराजलाई मौका मिल्नेवाला थियो । एडिलेडमा अस्ट्रेलियाविरुद्ध उनले डेब्यु खेल खेल्न पाए । यस खेलमा १० ओभर बलिङ गर्दा ७६ रन खर्चिए ।

त्यसपछि एकदिवसीय टिममा फर्कन २०२२ सम्म कुर्नुपर्यो । सही लाइन र लेन्थमा सटिक बल फालेर जब सिराजले विपक्षी टिमका ब्याट्सम्यानहरुलाई हैरान बनाउने र विकेट लिने क्रम थाले । तब टिममा उनको उपयोगिता बढ्यो र पछिल्ला वर्षयता उनले भारतीय टिमका लागि लगातार खेल्दै आइरहेका छन् ।

उनले अहिलेसम्म २९ खेलमा ५३ विकेट लिइसकेका छन् । यस वर्ष सिराजको एक अलग रुप देखिएको छ । उनले यस वर्ष अहिलेसम्म खेलेका १२ एकदिवसीय खेलमा २९ विकेट लिइसकेका छन् । सिराजका लागि यो वर्ष सपनाको वर्ष रह्यो । उनले एसिया कपको फाइनलमा आफ्नो एकदिवसीय करियरकै सर्वोत्कृष्ट प्रदर्शन गरे ।

आईपिएलमा पनि उनको प्रदर्शन निकै उत्कृष्ट छ । २१ टेस्ट म्याचमा सिराजको नाममा ५९ विकेट छ । यसमध्ये ४० विकेट उनले अस्ट्रेलिया र इङल्यान्डविरुद्धका खेलमा लिए । यस वर्ष वल्र्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा भारतका ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसकेका बेला सिराजले अस्ट्रेलियाको पहिलो पारीमा चार विकेट लिए, टेस्ट म्याचमा उनको यो सबैभन्दा उत्कृष्ट प्रदर्शन पनि हो ।

नजरमा विश्वकप

भारतले केही समयमै अस्ट्रेलियाविरुद्ध एकदिवसीय शृंखला खेल्दैछ । त्यसलगत्तै विश्वकप सुरु हुनेछ । सिराजसामु ठूलो चुनौती छन् । तर, उनले आफुलाई प्रमाणित गर्न गरेको मेहिनत तथा एसिया कपमा गरेको सनसनीपूर्ण प्रदर्शनका कारण उनीबाट अपेक्षा गर्न सकिने ठाउँहरु धेरै छन् । जसप्रित बुमराह टिममा फर्किएका छन् ।

सिराज पनि लयमा छन् । कुलदीप यादवले पनि विकेट लिइरहेका छन् । भारतसँग अनुभवी बलर मोहम्मद समी पनि छन् । त्यहीकारण, यो बलिङ डिपार्टमेन्ट निकै दुरुस्त देखिएको छ । अब भारतले आफ्नो स्थिरता र निरन्तरता ब्याटिङमा कायम राख्नुपर्नेछ । यस्तो हुन सके, भारतीय टिम आगामी विश्वकपको प्रबल दाबेदार हुनेछ ।

स्रोत : बीबीसी हिन्दी
प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार १८:०४

लोकप्रिय