सूचनाको शक्ति - The Power Of Information

        

पशुपतिनाथको ढोका बिहान तीन बजेदेखि नै खुला

तीजमा दर्शनार्थीको सुविधाको लागि पशुपतिनाथ मन्दिरको ढोका बिहान तीन बजेदेखि नै खुला गरिएको छ । दर्शनार्थीलाई चार ठाउँबाट लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोटेश्वर–तीनकुने–सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने गरी पहिलो लामको व्यवस्था गरिएको छ ।

यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल आर्यघाट जाने वाग्मती नदीमाथिका दुई पुल पार गरेपछिकोमध्ये क्षेत्रमा राख्ने गरी व्यवस्था मिलाइएको छ ।

दोस्रो लाइन मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने गरी व्यवस्था गरिएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल शङ्कराचार्य मठअघिको क्षेत्रमा राख्न सकिने गरी व्यवस्था गरिएको छ ।

तेस्रो लाइन गौशाला–पिङ्गलस्थान–पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ताचप्पल बज्रघरअघिको भागमा राखिनेछ ।

चौथो लाइन गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गर्नेछ । यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ताचप्पल गुरु मन्दिरअघिको खुला भागमा राखिनेछ ।

यसैबीच पशुपतिनाथ मूल मन्दिर र त्यस परिसरको तस्बिर एवम् भिडियो खिचेमा मोबाइल जफत गरी नगद जरिवानासमेत गरिने भएको छ । पशुपतिनाथको मूल मन्दिरभित्र प्राचीनकालदेखि नै तस्बिर एवम् भिडियो खिच्न मनाही गरिँदै आएको छ ।

पछिल्लो समय सबैका हातमा मोबाइल हुने र मोबाइल चलाए जसरी तस्बिर खिच्ने क्रम बढ्न थालेपछि नगद जरिबानासहित कारबाही गर्न लागिएको कोषले जनाएको हो ।

सनातनकालदेखि तस्बिर खिच्न मनाही गरिएको ठाउँको तस्बिर खिची सामाजिक सञ्जालमा राख्ने, टिकटक बनाउने गर्ने क्रम बढ्न थालेपछि कोषले यस्तो तयारी गरेको हो ।

कोषले आज बिहान ६ बजेपछि पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेश गर्न पनि रोक लगाएको छ ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार ०६:४७

लोकप्रिय