सूचनाको शक्ति - The Power Of Information

        

सन्दर्भ : तीज विशेष

विकृतितर्फ धकेलिँदै तीज पर्व !

तीज पर्व सामान्य हर्षोल्लासका निमित्त मनाउने चाड मात्र नभएर यसको आफ्नै सामाजिक, सांस्कृतिक, आध्यात्मिक एवं तात्विक महत्व छ ।

हाम्रो समाजमा तीज महिलाहरूद्वारा मनाइने एउटा पर्व हो । आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलि आएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमानको साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनुपर्ने हुन्छ ।

यसरी आफू जन्मेको घर, माता, पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतिको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा तीज पर्वको गहन महत्व रहेको छ । तीजमा महिलाहरूलाई मीठा-मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ ।

महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ । यो चाडमा माइतीले (बाबु आमा,दाजुभाइ) छोरीचेलीलाई घरमा गई लिएर आउने वा बोलाएर मीठा–मीठा परिकार खुवाउने तथा मनका भावना एवम् सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने–बस्ने चलन छ ।

यस दिन विशेष महत्वकासाथ दर खाने गरिन्छ । यहि दर खाने दिनबाट नै तीज पर्वको आरम्भ भएको मानिन्छ । दरमा ठाउँ अनुसार विभिन्न मिठा–मिठा परिकार साथै खीर, ढकने, सेलरोटी, केरा लगायतका खाना, फलफुल खाने गरिन्छ । आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ ।

सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ । भोलिपल्ट दिनभर पानी सम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन राती ढिलासम्म बसेर पेटभरी खाने प्रचलन बसेको हो । यो चाड भाद्र शुक्ल द्वितियादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ ।

नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । तीजमा विवाहिता महिलाहरू आफ्ना पतिको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता सुयोग्य वरको आशा राखी व्रत बस्छन् ।

ब्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मण ब्राह्मणीहरूलाई दान दक्षिणा गर्ने चलन रहेको छ । तीजको व्रत अन्य व्रतभन्दा फरक ढंगले लिइन्छ । यस दिन पानीसम्म पनि नखाई ब्रत बस्नुपर्ने परम्परागत मान्यता रहेको भएपनि कतिपय महिलाहरु महादेवको पुजा आराधना पश्चात फलफुल ग्रहण गर्दछन् ।

यो दिन महिलाहरु विहान चाँडै उठी नुहाई धुवाई गरेर दिनभरी जल अन्न ग्रहण नगरी ब्रत बस्ने गदैछन् । बेलुकीपख गाउँघर र छिमेकका महिलाहरु भेला भई पूजाका सामान तथा मण्डप तयार गरी भगवान शिवको आराधना गर्ने प्रचलन छ । निर्जला ब्रत भनिए पनि आजभोली महिलाहरु मध्यान्हमै पुजा आराधना पश्चात फलफूल ग्रहण गर्ने गर्दछन् ।

कतिपय महिलाहरु नजिक रहेको शिवमन्दिरमा गई शिव आराधनाका साथै नाचगान तथा रमाइलो गर्ने गर्दछन् । पूर्विय वैदिक सनातन धर्म परम्पराका विभिन्न पौराणिक एवं आध्यात्मिक ग्रन्थहरूमा, खासगरी स्कन्द पुराण र भविष्योत्तर पुराणमा वर्णन भए बमोजिम राजा हिमालयले आफ्नी पुत्री गौरीको बिवाह भगवान बिष्णुसँग गरिदिने निधो गरेपश्चात साथीहरूले हरेर (सखीहरूको सहयोगमा)बिकट स्थानमा पुर्याए र त्यही गौरी (पार्वती)ले कठोर तपस्या गरिन ।

उनको तपस्याबाट महादेव प्रशन्न भएर भाद्र महिनाको शुक्ल पक्षको तृतीया तिथी हस्ता नक्षत्रका दिन स्वयं प्रकट भएर गौरीको तपस्या स्वीकार्दै आशीर्वाद दिएर तपस्या सफल तुल्याइदिएकाले हरेक वर्ष भाद्र महिनाको शुक्ल पक्षको तृतीयाका दिन तीज पर्व मनाउँदै आएको पाइन्छ । सखीहरू (आलीका)बाट हरेर तपस्या गराई सफल भएकोले तीज पर्वलाई हरितालिका तीज पनि भनिन्छ ।

सोही तिथीदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ । यसै दिन पार्वतीले आफ्नो तपस्या पूरा गरी शिवजी पाएको विश्वास गरिने हुनाले यस दिनलाई हर्षोल्लासका साथ नाचगान गरी मनाइने गरिन्छ । तीज पर्व नेपालमा मात्र नभएर भारत वर्षका बिभिन्न स्थानहरूमा मनाइन्छ ।

यस पर्वलाई हरियाली तीज, काजरी तीज, केभाडा तीज, अखा तीज, काजल तीज, तीजरी तीज आदि आदि नामबाट मनाइन्छ । कतै कतै बैशाख तथा श्रावण महिनामा पनि मनाउने गरिन्छ । तर समग्रमा तीजको महत्व र मान्यता समान देखिन्छ । हरितालिका तीज नेपाल लगायत भारतका विभिन्न स्थानहरूमा धुमधामसँग मनाउने गरिन्छ । अहिले आएर संसारका बिभिन्न देशमा नेपाली र भारतिय समूदायले तीज पर्व मनाएको पाइन्छ ।

खासगरी नेपाली समूदायले बिदेशमा विशेष पर्वको रूपमा मनाउँदै आएको देखिन्छ । अर्को शब्दमा भन्नुपर्दा यो पर्व नेपालीहरूको साँस्कृतिक पहिचानको रूपमा बिदेशमा परिचित भई राखेको देखिन्छ । तीज पर्व सामान्य हर्षोल्लासका निमित्त मनाउने चाड मात्र नभएर यसको आफ्नै सामाजिक, सांस्कृतिक, आध्यात्मिक एवं तात्विक महत्व रहेको छ । त्यसो त हाम्रा अधिक चाडहरू यिनै महत्वले ओतप्रोत छन् ।

सामाजिक सद्भाव, मेलमिलाप एवं समाजका विविध विसंगति र सामाजिक अधिकारलाई उजागर गर्ने पर्वको रूपमा हजारौं हजार वर्षदेखि यो चाड मनाइँदै आएको छ । स्वयं माता पार्वतीले पनि नारी जातीको आफ्नो अनुकूलको योग्य वर छान्न पाउने जन्मसिद्ध नैसर्गिक अधिकारलाई ब्यवहारिक रूपमा स्थापित गराउन तपस्या (सत्याग्रह र शान्ति पूर्ण आन्दोलन) गरेर आफु अनुकूल वर छानि ब्यबहारीक रूपमा समाजमा स्थापित गरेको देखिन्छ ।

यस अर्थमा हामी माता पार्वतीलाई नारी जातीको अधिकार र स्वतन्त्रताको बिगुल फुक्ने पहिलो महिला अभियन्ताको रूपमा लिन सक्छौं । यो चाडले साँस्कृतिक रितिरीवाज परम्परा एवं गीत संगीत अनि भेषभुषालाई संरक्षण र संबर्द्धन गर्दै आएको छ । हालका दिनहरूमा संसारभर छरिएर रहेका नेपालीहरू मार्फत तीजको माध्यमबाट साँस्कृतिक पहिचान गराउने काम भइरहेको छ । आध्यात्मिक रूपमा पनि तीजको निकै ठूलो महिमा छ ।

श्रद्धापूर्वक श्रद्धालुहरू ब्रत बस्ने, शिव पार्वतीको आरधना एवं पूजा गर्ने र शिव पार्वतीका मठमन्दिरहरूमा दर्शन, पूजा तथा नाचगान गर्ने गरिन्छ । यसैगरि पञ्चमीका दिन ब्रत बस्ने, सप्तऋषिका पूजा गर्ने गरिन्छ । यसै प्रकार तीजको तात्विक महत्व पनि त्यतिकै छ । हाम्रो वैदिक षड–दर्शनले स्त्रीलाई प्रकृति मानेको छ । यसर्थ तीजको सम्बन्ध प्रकृती तत्व (जड तत्व)सँग छ ।

एक प्रकारले प्रकृतिको सम्मान, महत्व र सामिप्यतालाई यो चाडले आत्मसाथ गरेको छ । तात्विकरूपमा प्रकृति र पुरूष (आत्मा) तत्वको मिलनको चाड हो । प्रकृति आत्मा र परमात्माको संयुक्त स्वरूपलाई नै हाम्रा दर्शनले ब्रह्म भनेका र मानेका छन् । समस्त जड तत्वको समुचित उपयोग, उपदेयता ज्ञान र संरक्षण जस्ता कुराहरूलाई हाम्रा दर्शनले महत्व दिएको पाइन्छ । यसर्थ तीज पर्व तात्विक दृष्टिकोणले पनि त्यतिकै महत्वपूर्ण छ । समय परिवर्तनशील र गतिशिल छ ।

समयको परिवर्तनशीलता र गतिशिलता सँगसँगै मानव समाज र सभ्यताहरूको परिवर्तन हुँदै आएका छन् । समयको गतिसँगै भएका सकारात्मक एवं श्रृजनशील परिवर्तनहरूले समाज र सभ्यताहरूलाई वैभवता प्रदान गर्दै बिकासको उचाईमा पुर्याएका छन् । समयको बदलिँदो प्रवाह सँगसँगै नकारात्मक र अश्रृजनशील परिवर्तनहरूले समाज र सभ्यताहरूलाई बदनाम गर्दै बिनाशको बिन्दूसम्म पुर्याएका छन् ।

तीज पर्व पनि समयको परिवर्तित चक्र सँगसँगै परिवर्तन हुँदै आएको छ र समय अनुकूल मूलभूत यथार्थ, मूल्य र मान्यतामा आँच नआउने गरि परिवर्तन हुन आवश्यक छ पनि । हिजो माइती घर, ब्रत, पूजा, पधेँरो, चौतारो अनि मन्दिरहरूमा सिमित हुने पर्व आज शहर, बजार, बस्ती, ब्यवसाय, विद्युतीय सञ्चार माध्यमहरू, सामाजिक सञ्जालहरू लगायत हुँदै ब्यापकता लिएको छ ।

हिँजो डम्फू, मादल, थपडी र मुर्चुङ्गामा गाइने तीजका भाकाहरू आज सुव्यवस्थित तवरले आधुनिक बाजागाजामा लयबद्ध भएका छन् । एक प्रकारले तीज पर्वको माध्यमबाट सामाजले सांस्कृतिक एवं सांगितिक उपलब्धी हाँसिल गरेको छ भन्दा अतिशयोक्ति नहोला । यी सकारात्मक पक्ष हुन् ।

तर विगत केही वर्षहरूदेखि आधुनिकताको नाममा, परिवर्तनको बहानामा अनि सस्तो लोकप्रियता, सजिलो आयआर्जनको लोभमा, तीजजस्तो पवित्र चाडलाई विकृति, विसंगति र यौन स्वच्छन्दताको शिकार बनाइँदैछ । ‘पोइल जान पाम’ डिस्कोमा तीज छोटो लुगा आदि आदि हुँदै अगाडी बढेको तीज गीतको आधुनिक यात्राले यसपालीको तीजमा दरको साटो रक्सी खाइन्छ ।

देखियो जामा फाटेरसम्मको उचाई छुइराखेको छ । थाहा छैन यो आधुनिकताको स्वच्छन्द गतीले कुन उचाई छुने हो ? यस्ता उच्छृंखल र छाडा गीत, संगीत र अभिनयले तत्काल कोही कसैलाई सस्तो लोकप्रियता र सहज आर्जन गराए पनि हाम्रो वैभवशाली संस्कार, संस्कृति एवं परम्परालाई पटक्कै फाइदा पुग्ने छैन । जीवन्त समाज र वैभवशाली सभ्यताका बिनाशका कारक बन्न सक्ने यस्ता गलत क्रियाकलापहरू रोक्न आवश्यक देखिन्छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतवार १२:४३

लोकप्रिय