सूचनाको शक्ति - The Power Of Information

        

ढकेरी नजिकै द्वन्द्वकालिन ‘माइन’ विस्फोट भएको आशङ्का

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बाँकेको ढकेरी नजिक शक्तिशाली विस्फोट भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता (डिएसपी) नारायण डाँगीका अनुसार शनिवार राती पूर्व–पश्चिम राजमार्गको ढकेरीदेखि करिव तीन किलोमिटर पूर्वमा विष्फोट भएको हो ।

विष्फोट भएको स्थान मानव बस्तीभन्दा टाढा जंगलमा पर्छ । स्थानीय बासिन्दाले आइतबार बिहान विष्फोट भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । राती विष्फोट भएपनि कति बजे भयो ? भन्नेबारे नखुलेको डिएसपी डाँगीले बताए ।

विस्फोटबाट कुनै मानवीय क्षति नभएपनि सडकको एकतर्फको भाग भत्केको प्रहरीले जनाएको छ । घटनास्थलमा खिया लागेका तार लगायतका टुक्राहरू फेला परेको डाँगीले बताए। ‘घटनास्थलको अवस्था हेर्दा सडकमुनि विछ्याइएको द्वन्द्वकालिन ‘माइन’ अहिले आएर विष्फोट भएको हुन सक्ने हाम्रो आशंका छ, यस विषयमा अनुसन्धान भइरहेको छ,’ उनले भने ।

विष्फोटपछि नेपाली सेना पुगेर पनि अनुसन्धान गरेको जानकारी दिए । राप्तीसोनारी–९ ढकेरीका स्थानीय बासिन्दा कबिन्द्र परियारले पनि द्वन्द्वकालिन समयमा विछ्याइएको विष्फोटक पदार्थ अहिले पड्किएको हुनसक्ने आशङ्का गरे । ‘विष्फोट हुने समयमा कुनै गाडी परेको भए ठूलो मानवीय क्षति हुँदो रहेछ, यो शक्तिशाली विष्फोट नै हो, सडकमा रहेका कालोपत्रेका टुक्रा ५० मिटर परसम्म पुगेका छन्,’ उनले भने ।

तत्कालिन सशस्त्र द्वन्द्वको समयमा पूर्व–पश्चिम राजमार्गको कोहलपुर–लमही खण्डमा बिद्रोही माओवादीले थुप्रै ठाउँमा माईन विष्फोट गराएको थियो । उक्त सडक खण्डको खैरी खोला नजिक राजमार्गमा बम विष्फोट हुँदा गाडीमा सवार थुप्रै सशस्त्र प्रहरी मारिएका थिए । उक्त समयमा तत्कालीन सेनाले सडकको बीच भागमा बिछ्याइएका थुप्रै ठाउँका माइनहरू निष्क्रिय पारेको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतवार १२:०४

लोकप्रिय