सूचनाको शक्ति - The Power Of Information

        

आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा ठप्प

 हेटौंडामा चिकित्सक कुटिएको घटनाको विरोध गर्दै नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवा बन्द गरेको छ ।

हेटौँडाको सन्चो अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको सांघातिक आक्रमणका दोषीलाई सरकारले कानूनी दायरामा नल्याएको भन्दै चिकित्सक संघ आन्दोलित भएको हो । संघले शनिबार विज्ञप्ति जारी गर्दै आइतबार देशभरका अस्पालहरुमा आकस्मिक बाहेक सबै सेवा ठप्प पार्ने जनाएको हो ।

आइतबार देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरू पूर्ण रूपमा बन्द रहने पनि संघले जनाएको हो ।

विज्ञप्तिमा देशभरका स्वास्थ्य संस्थाहरूमा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था अविलम्ब मिलाउन समेत माग गरिएको छ ।

भदौ २७ गते सञ्चो अस्पतालका चिकित्सकद्वय प्रशान्त विडारी र विकास थापामाथि गत महिना उपचारका क्रममा मृत्यु भएका विरामीका आफन्तले आक्रमण गरेका थिए ।

थापा र बिडारीमाथि भएको आक्रमणका दोषीलाई कानूनी दायरामा ल्याउन भन्दै संघले घटना भएकै दिन सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको थियो । तर, दोषीहरूलाई पक्राउ गरी कानूनी कारबाही चलाउनुको सट्टा स्थानीय सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयका जिम्मेवार व्यक्तिहरूले मेलमिलाप गराउन खोजेको पनि चिकित्सक संघले आरोप लगाएको छ ।

कुटपिटको घटनामा संलग्न चार जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धानका लागि तीन दिनको म्याद भने लिईसकेको छ । पक्राउ पर्नेमा मकवानपुर पदमपोखरीका रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधान रहेका छन् । उनीहरु मृतक राजेश प्रधानका परिवारका सदस्यहरु हुन् ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतवार ०९:१७

लोकप्रिय