सूचनाको शक्ति - The Power Of Information

        

आजदेखि तीज सुरु, पहिलो दिन दर खाएर मनाइँदै

हरितालिका तीजको अघिल्लो दिन आज बेलुका घर घरमा दर खाने चलन छ । दरखाने दिनसँगै चार दिने तीज पर्व सुरु भएको छ । आजको दिन माइतीले चेलबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दूधबाट बनेका परिकार खाइन्छ ।

तीजको व्रत निराहार बस्ने भएकाले आज व्रतालुहरुले शक्ति प्राप्तिका लागि आडिलो परिकार दरका रुपमा खाएर भोलिको व्रतका लागि पूर्व तयारी गर्छन् । महिलाहरुले तीजमा वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने गरेका छन् ।

गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाहरुले सार्वजनिक गर्दछन् । जन्मघरबाट कर्मघरमा गइ बस्दा पाएका दुःख, पीर, मर्कालाई नारीले पोख्ने गरेका छन् । आज दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ ।

तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतवार ०८:१८

लोकप्रिय