सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा इन्फ्लुएन्जाको सङ्क्रमण बढ्दै

बाँकेमा इन्फ्लुएन्जाको सङ्क्रमण देखिएको छ । भेरी अस्पतालमा आएका बिरामीको नमूना परीक्षण गर्दा इन्फ्लुएन्जा पुष्टि भएर बिरामी बढ्न थालेको अस्पतालका इन्फ्लुएन्जा फोकल पर्सन कन्सल्टेन्ट फिजिसियन डा खगेन्द्रजङ्ग शाहले बताए ।

उनका अनुसार विगत दुई सातादेखि इन्फ्लुएन्जाको सङ्क्रमण देखिएको हो । अस्पतालले उपचारका लागि आएका बिरामीमध्येबाट सङ्कलित नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने गरेको छ ।

साप्ताहिकरूपमा पठाउने गरिएको नमूनामा इन्फ्लुएन्जा देखिएको अस्पतालका प्रयोगशाला प्रमुख प्रशन्न मिश्रले जानकारी दिए । इन्फ्लुएन्जाको सङ्क्रमण हुँदा मानिसलाई रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्नेजस्ता समस्या देखिन्छन् ।

पछिल्लो एक सातादेखि इन्फ्लुएन्जाका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । मौसम परिवर्तन हुने समयमा देखिने भएकाले बिरामी बढ्दो क्रममा रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतवार ०८:१४

लोकप्रिय