सूचनाको शक्ति - The Power Of Information

        

थारु महिलाले बनाएका हस्तकलाका सामग्री विदेश निर्यात

बाँकेका थारु महिलाले उत्पादन गरेका हस्तकलाका सामग्री विदेश निर्यात हुने गरेका छन् । नेपालगन्जमा संगठितरुपमा उत्पादन हुने थारु महिलाका हस्तकलाका सामग्री डेनमार्क, अमेरिका, जापान, थाइल्यान्ड लगायतका मुलुकमा निर्यात गर्दै आएको नेपालगन्जस्थित पञ्चशील हस्तकला केन्द्रका अध्यक्ष निरु चौधरीले जानकारी दिइन् ।

‘हामीले यहाँ उत्पादन गरेर सामग्री काठमाडौं पठाउँछौँ । त्यहाँबाट विदेश पठाउने काम हुन्छ,’ उनले भनिन्, ‘हस्तकला झन्झटिलो हुने भएकाले मागअनुसारको सामग्री तयार गर्न सकिरहेका छैनौँ ।’ ढकिया, पेनहोल्डर, गमला, हट्केश, ज्वैलरी, डस्टविन, ट्रेल गायतका सामग्रीको धेरै माग हुने गरेको चौधरीले बताइन् ।

थारू हस्तकलाका सामग्री लोप हुँदै जान थालेपछि व्यवसाय गरिएको जनाउँदै उनले यसले हस्तकलाको संरक्षण हुनुका साथै आम्दानीको राम्रो स्रोत बनेको बताइन् । चौधरीका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाले दिएको तीन महिने ‘थारु हस्तकला उत्पादन’ तालिम लिएपछि महिलाले हस्तकलाका सामग्री उत्पादन गर्दै बिक्री गर्न थालेका हुन् ।

हस्तकलाको काम गर्न थालेपछि दुई चार हजारका लागि श्रीमानको भर पर्न नपर्ने नेपालगन्ज उपमहानगरपालिका–१२ निवासी सरिता चौधरीले बताइन् । ‘उत्पादित वस्तुको बजार अभाव छैन जति उत्पादन गरे पनि बजारमा खपत हुन्छ,’ उनले भनिन्, ‘अहिले त विदेश पनि जान थालेको छ ।’ घरमै बसेर थारु महिलाले मासिक करिब १५ हजार रूपैयाँभन्दा बढी आम्दानी गरिरहेका सरिताले बताइन् ।

मेहनत अनुसार कुनै महिना त्योभन्दा पनि बढी आम्दानी हुने गरेको उनको भनाइ थियो । उनका अनुसार सामान बनाउन वस्तुको प्रकृति हेरेर समय लाग्ने गरेको छ । सामग्री बनाउन लाग्ने समयको आधारमा सामानको मूल्य तोक्ने गरिएको नेपालगन्ज–१२ की विद्या थारुले बताइन् । उनका अनुसार अहिले एउटा सामानको मूल्य ३०० रूपैयाँदेखि सुरु हुन्छ ।

यस क्षेत्रका महिलाले जंगलबाट कुश, खर ल्याएर हस्तकलाका सामग्री बनाउँदै आएका छन् । हस्तकलाका सामान उत्पादन गर्न थालेपछि मजदुरी गर्ने बाध्यताबाट मुक्ति मिलेको थारुले बताइन् । नेपालगन्ज–६ फुल्टेक्राकी भागरथी चौधरीले घरको कामधन्धा सकेर फुर्सदको समयमा हस्तकलाका सामान बनाउने गरेको बताएन् । उत्पादित सामग्री बेचेर महिनामा आठ–दश हजार कमाइ हुने गरेको उनको भनाइ थियो ।

बाँकेका थारु महिलाले सरकारी तथा गैरसरकारी संघसंस्थाको सहयोगमा तालिम लिएका हुन् । तालिम लिएपछि आधुनिक र चलन चल्तीका प्लाष्टिक, तामा, सिसाका भाँडाजस्तै डिजाइनमा हस्तकलाका सामग्री बनाउन थालेको प्रशिक्षकसमेत रहेकी पञ्चशील हस्तकला केन्द्रका अध्यक्ष चौधरीले जानकारी दिइन् । घर र छिमेकीसँग गफ गरेर बिताउने समय हस्तकलाका सामान उत्पादन गर्नमा बित्ने गरेको उनले बताइन् ।

थारु महिलाले हस्तकलाबाट सामग्री उत्पादनको काम गर्न थालेपछि समयको सदुपयोगसँगै आम्दानीको राम्रो स्रोत बनेको उनको बुझाइ छ । उत्पादित हस्तकलाका सामानको प्रचारप्रसार गर्न स्थानीयस्तरमा लाग्ने मेला, महोत्सवमा लैजाने गरिएको जनाउँदै अध्यक्ष चौधरीले गत साता नारी विकास केन्द्रले नेपालगन्जमा आयोजना गरेको तीज महोत्सवमा थारु हस्तकलाबाट उत्पादित सामग्री मनग्य बिक्री वितरण भएको बताइन् ।

हस्तकलाबाट उत्पादित वस्तुलाई उपभोक्तासँग प्रत्यक्ष परिचित गराउँदै बिक्री वितरणमा सहयोग पु¥याउन आगामी दिनमा प्रचारप्रसारका योजना बनाइएको नारी विकास केन्द्रकी अध्यक्ष एवम् लुम्बिनी प्रदेशसभा सदस्य मिना श्रेष्ठले बताइन् । यसका लागि स्थानीय तह तथा सरोकारवाला निकायसँग समन्वय गरी अगाडि बढ्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार १६:२४

लोकप्रिय