सूचनाको शक्ति - The Power Of Information

        

छोराले उपचार नपाएपछि ऋचाले भनिन्, ‘चिकित्सालय स्वास्थ्यभन्दा पैसा कमाउने भाँडो’

अभिनेत्री ऋचा शर्माले नेपालको स्वास्थ्य अवस्थामा प्रति आक्रोश पोखेकी छन् । खास गरी स्वास्थ्य उपचारका लागि खोलिएका स्वास्थ्य संस्थाहरूको व्यवहारप्रति उनले आक्रोश पोखेकी हुन् । ऋचाले छोरा आभ्यानको लडेर टाउकोमा चोट लागेपछि उपचारका लागि चण्डोलस्थित कोपिला क्लिनिकमा पुग्दा त्यहाँका कर्मचारीले आफूप्रति गरेको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेकी छन् । हिजो घटेको घटनालाई लिएर उनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएकी हुन् ।

‘आज बिहान ११ः३० मा छोरा आभ्यानको प्रि–स्कूलबाट आभ्यान मेचबाट लडेर टाउकोमा चोट लागेको र टुटुलको आएको छ भनेर फोन आएपछि म केहि मिनेटमै त्यहाँ पुगे । म त्यहाँ पुग्दा छोरा दुखेर रोइरहेको देखेपछि मैले स्कूलको प्रधानाध्यापिकासँग मिलेर त्यहाँबाट मात्र दुई घर पर चन्डोलस्थित कोपिला क्लिनिक लिएर गएँ । त्यहाँ पुग्ने बित्तिकै रिसेप्सनमा मैले इमरजेन्सीमा डाक्टर बोलाइदिनुस् मेरो बच्चालाई चोट लागेको छ भन्दा, ‘हुन्छ तर पहिला मेम्बरशिप रजिस्ट्रेशन गराउनुहोस् किनकी यो तपाईको पहिलो चोटी हो । रेजिस्ट्रेशन शुल्क ४८०० र थप डाक्टर जाँच शुल्क’ भन्ने जवाफ पाएँ । मैले ‘म त्यो सब गरुँला पहिला डाक्टर बोलाइदिनुस्’ भन्दा फेरी ‘पहिला रेजिस्ट्रेशन गर्नुस्,’ भन्दा मलाई त्यो व्यवहारदेखि घिन नै लागेर आयो,’ उनले लेखेकी छन् ।

ऋचा अगाडि लेख्छिन्, ‘र मैले मेरो बच्चालाई लिएर तुरुन्त उसलाई देखाइरहेको डाक्टरका लगे । कुरा ४५०० को थिएन । कुरा एउटा बच्चाको चिकित्सालय जस्तो ठाउँ, त्यो पनि निजी सुविधा विश्वास दिलाउने ठाउँमा चिकित्सालयलाई एउटा बच्चाको स्वास्थ्य भन्दा पैसा कमाउने भाँडो बनाउने दुःखद दुष्प्रयासको थियो । कुरा चोट कत्तिको थियो होइन, कुरा कुनै पनि बिरामीले पाउनुपर्ने आकस्मिक र आपतकालीन अवस्थामा मेडिकल सुविधाको थियो । म बोल्दैछु किनकी कति आमा र बिरामीको परिवारहरुले त कस्तो विपत आईपर्दा पनि बोल्ने ठाउँ सम्म पाउदैनन् । आज एउटा नायिका होइन, एउटा आमाको गुनासो हो र एउटा सचेत नागरिकको ।’

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार ११:५६