सूचनाको शक्ति - The Power Of Information

        

चार जनाको हत्यापछि शंकास्पद व्यक्ति नै प्रहरीमा पुगेपछि…

तीनकुनेमा चार जनाको सामूहिक हत्या घटनामा पक्राउ परेका व्यक्ति ट्याक्सी चढेर प्रहरी वृत्त बानेश्वरमा पुगेको खुलेको छ ।

प्रहरीले शंकास्पद व्यक्ति भनी नियन्त्रणमा लिएका धनकुटा घर भई काठमाडौं–३२ तीनकुने बस्ने २८ वर्षीय दीपेन्द्र राई ट्याक्सी चढेर प्रहरीमा पुगेको खुलेको हो ।

उनी घटना जानकारी दिन आएको भन्दै हस्याङफस्याङ गर्दै बानेश्वरस्थित वृत्तमा पुगेका हुन् । उनको कपडामा रगत लागेको थियो ।

‘जानकारी दिने भनी आएका उनलाई नियन्त्रणमा लिई सोधपुछ भइरहेको छ,’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले भने ।

प्रारम्भिक अनुसन्धानमा उनी एक्लै त्यहाँ रहेको देखिएको छ । तर, घटनाबारे अहिले नै किटान गरेर भन्ने अवस्था नरहेको उनले बताए ।

दोलखा घर भई सोही काठ मिलमा गेटपालेको काम गर्ने ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, उनकी आमा ७० वर्षीया शुभद्रा भुजेल भुजेल र मोरङ बेलबारी घर भएका १९ वर्षीय नवीन राईको शुक्रबार राति हत्या भएको थियो ।

दिव्य सःमिलभित्र शुक्रबार ११ः५५ बजे चार जनाको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उक्त सःमिल दोलखा कालिञ्चोक गाउँपालिका–८ घर भई गौशाला बस्ने बालकृष्ण शिवाकोटीले सञ्चालन गरिरहेका थिए ।

हत्या भएकामध्ये ५५ वर्षीय कुमार त्यो काठमिलको गेटपालको रूपमा काम गर्थे । काठ मिलभित्र काठले बनाएको एक तले टहरोमा चारै जनाको हत्या भएको हो ।

प्रहरी स्रोतका अनुसार दीपेन्द्र काठ मिलमा आउने–जाने गरिरहन्थे । उनका बुवाले पहिले काम गर्ने र नवीन साथीसमेत रहेका उनको आउजाउ हुने गरेको देखिएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार १०:०९

लोकप्रिय