सूचनाको शक्ति - The Power Of Information

        

जुन कुखुरीको जीवनी लेखियो !

अमेरिकाको मिचिगनस्थित चेल्सी निवासी मार्सी पार्कर डार्विनको घरमा कुखुराले अण्डा कोरल्यो । धेरै कोरलिएका अण्डामध्ये एउटा कोरल्न ढिला भयो । मार्सीले सोचिन्, ‘शायद यो अण्डा बिग्रेछ ।’ बिग्रेको अण्डालाई उनले नजिकैको पोखरीमा फ्याँक्ने विचारले उठाइन् । पोखरी छेउमा पुग्दा अण्डा चलमलाएको आभास भएर आयो ।

त्यसपछि उनले अण्डालाई कानछेउ लगेर गतिविधि नियालिन् । केही क्षणमा त अण्डा फुट्न पो थाल्यो । यसरी सन् २००२ मा एउटी मर्दामर्दैको चल्ली जन्मिई । यसको नाम मार्सीले पिनट राखिन् । त्यो चल्ली यतिबेला संसारकै सबैभन्दा बूढी कुखुरी बन्न पुगेकी छे । एउटा कुखुराको उमेर बढीमा सात वर्ष हुन्छ । धेरै बाँचे, १० वर्षभन्दा बढी बाँच्दैनन् ।

पिनटले भने कीर्तिमान कायम गरेर यतिबेला २१ वर्ष लागेकी छे । मार्सी भन्छिन्, ‘यो जन्मिदा पहिलो पटक आइपड जन्मिएको थियो ।हेल बेरीले पहिलो काला जातिले अस्कर जितेको कीर्तिमान बनाएकी थिइन् । ब्रिट्नी स्पेयर्सले जस्टिन टिम्बरलेकसँग छुटानाम भएको हल्ला मच्चिदै थियो । पिनटको कोरल्याइँ अलि फरक भएकाले उसकी आमाले अँगाल्न मानिन ।’

यो देखेर मार्सीलाई दुःख लाग्यो र आफैंले ख्वाउने पियाउने काम गर्न थालिन् । कतिसम्म भने कतै बाहिर जानु पर्दा कोटको खल्तीमा राखीकन हिँड्थिन् । मार्सीले पालेका कयौं कुखुरा–कुखुरी उमेर पुगेरै मरे । यो भने बाँचेको बाँच्यै भई । एक दिन एक जना साथी उनको घर आउँदा बुढी कुखुरी देखेर चकित भइन् ।

उनले गिनिज बुकमा १६ वर्षको कुखुरो सबैभन्दा बढी बाँचेको कीर्तिमान राखेको भन्दै यसलाई पनि गिनिजमा नाम लेखाउन कर गरिन् ।त्यसो त गिनिजमा सबैभन्दा बूढी कुखुरीका रूपमा २३ वर्षसम्म बाँच्नेको नाउँमा छ । यो कीर्तिमानका लागि अझै केही वर्ष कुर्नैपर्छ तर जीवित कुखुरीका रूपमा यसले कीर्तिमान भने बनाएकी छ ।

कुखुरीको मायाले मार्सीले उसको जीवनी पनि लेखेकी छन्, माई गर्ल पिनट एन्ड मी । सन् २०१९ को जाडो याममा भने उसले ढोका ढक्ढक्याएर हैरान पारी । मार्सीले सोचिन्, ‘बूढी भएकीले यसलाई धेरै जाडो भयो होला ।’ त्यसयता पिनट र मार्सी सँगै बस्छन्, सुत्छन् । भर्खरै ७१ वर्ष पुगेकी मार्सीलाई पिनट र आफू उस्तैउस्तै लाग्छ… मृत्यु कुरिरहेको प्राणीजस्तो…।

स्रोत : एजेन्सी
प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार ०९:५९

लोकप्रिय