सूचनाको शक्ति - The Power Of Information

        

चाडपर्वका बेला सामान किन्न १० हजार नेपाली रुपैडिहातिर

बाँकेको जमुनाह नाकामा सीमावर्ती भारतीय बजार रुपैडिहा जाने नेपालीको लर्को लागेको छ । नेपालगन्ज भन्सार कार्यालयले १०० रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने गरी कडाइ गरे पनि घरायसी उपभोग्य वस्तु र लत्ताकपडा किन्न दैनिक हजारौं नेपाली रुपैडिहा पुग्ने गरेका छन् ।

अहिले दैनिक १० हजारभन्दा बढी नेपाली रुपैडिहा जाने गरेको जमुनाहस्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मीनबहादुर विष्टले बताए । ‘शुक्रबार र शनिबार सीमामा थामिनसक्नु भीड लाग्ने गरेको छ,’ उनले भने, ‘सहज आवतजावतको हरदम प्रयास गरिरहेका छौँ ।’ तीजको किनमेल गर्न रुपैडिहामा नेपालीको लर्को लागेपछि यति वेला नेपालगन्जका व्यापारी चिन्तित छन् ।

बाँकेका ग्रामीण क्षेत्र र बर्दिया, दाङ, सुर्खेत, दैलेख, जाजरकोट र सल्यान लगायत ठाउँका उपभोक्ता किनमेल गर्न भारत जाने गरेका छन् । रुपैडिहामा नेपाली रुपैयाँमा कारोबार हुने गरेको छ । पसलमा काम गर्ने कामदारसमेत नेपाली हुन्छन् । नेपाली उपभोक्ताको भरमा रुपैडिहा बजार चलेको मोफसलका पत्रकार सन्तोष शुक्लाले बताए ।

तीज आउन केही दिन बाँकी रहे पनि नेपालगन्ज बजार सुनसान छ । नेपालका बजारमा उपभोक्ताको चहलपहल छैन तर रुपैडिहामा किनमेल गर्ने नेपालीको चहलपहल बढेको छ । चाडपर्व मात्र होइन, अन्य समयमा पनि दैनिक उपभोग्य सामग्रीका लागि नेपाली उपभोक्ता रुपैडिहामै पुग्ने गरेको नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए ।

रुपैडिहा बजार नेपाली उपभोक्ताको भरमा टिकेको छ । दैनिक करिब एक करोड रुपैयाँको कारोबार नेपाली उपभोक्ताबाटै हुने गरेको छ । नेपालगन्जमा चाडपर्वका वेला पनि कारोबारमा कमी आएको उनको भनाइ थियो । नेपाली उपभोक्ता किनमेल गर्न भारतीय बजार जाने पुरानै चलन भएकाले उनीहरूलाई यतै रोक्न नेपालगन्ज उद्योग वाणिज्य सङ्घको प्रत्येक निर्वाचनका वेला चुनावी नारा बनाइन्छ ।

‘हामीले संघका तर्फबाट धेरै प्रयास गरेका छौँ । हाम्रो मात्रै प्रयासले केही भएन । सस्तोमा पाइने लोभमा नेपाली रुपैडिहा जाँदा नेपालगन्जका व्यवसायी धराशायी भएका छन् । हामीले बेलाबेला उपभोक्ता जागरण कार्यक्रम गरेर सम्झाउँछौँ,’ सङ्घका निवर्तमान अब्दुल वाहिद मन्सुरीले भने, ‘भारतीय बजारमा सबै सामान सस्तो पाइन्छ भन्ने भ्रम नेपाली उपभोक्तामा छ ।’

पछिल्लो एक सातायता किनमेल गर्न रुपैडिहातर्फ जाने नेपाली उपभोक्ताको भीड बढेको जमुनाहस्थित इलाका प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक माधव रिजालले बताए । घरायसी प्रयोजनका सामान किन्न सीमावर्ती बजारतिर धाउने सीमा क्षेत्रका स्थानीयसँगै चाडपर्वका बेला टाढाटाढाबाट नेपाली रुपैडिहा जाने गर्दछन् । घर रङ्गरोगनदेखि विद्युतीय सामग्री, मसला, फलफूल र लत्ताकपडा प्रायजसोले रुपैडिहाबाटै ल्याउँछन् ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार १७:५५

लोकप्रिय