सूचनाको शक्ति - The Power Of Information

        

क्यान्सर अस्पतालको कुरुवा घर हस्तान्तरण

बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल परिसरमा सुविधा सम्पन्न हस्पिक सेन्टर (बिरामी कुरुवा घर) को निर्माण गरिएको छ ।

लायन्स क्लब इन्टरनेशनल फाउण्डेशन र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आर्थिक सहयोगमा लायन्स क्लब अफ नेपालगञ्ज खजुरा र लायन्स क्लब अफ नेपालगञ्ज सेन्टरले बिरामी कुरुवा घरको निर्माण गरेका हुन् ।

कुरुवा घर निर्माणका लागि लायन्स इन्टरनेशनलले एक करोड ११ लाख ५६ हजार ४०२ रुपियाँ र अस्पतालले ३७ लाख ६५ हजार २०६ रुपैयाँ सहयोग गरेको अध्यक्ष भण्डारीले बताए ।

पश्चिम नेपालका लुम्विनी, कर्णाली र सुदुरपश्चिम प्रदेशबाट उपचारका लागि आउने विरामीका कुरुवालाई घर निर्माण भएपछि थप सहज हुने लायन्स क्लब अफ नेपालगञ्ज खजुराका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए ।

अध्यक्ष भण्डारीले भने, ‘हस्पिक सेन्टर (बिरामी कुरुवा घर) सञ्चालनमा आएपछि क्यान्सर अस्पतालमा आएका जटिल प्रकृतिका बिरामीका कुरुवालाई धेरै सहज हुनेछ ।’

शुक्रबार औपचारिक कार्यक्रमबीचमा लायन्स क्लबका अन्तर्राष्ट्रिय निर्देशक पिएमजेएफ लायन बालकृष्ण बुर्लाकोटीले कुरुवा घर क्यान्सर अस्पताललाई हस्तान्तरण गरे ।

बिरामी कुरुवा घर सञ्चालमा आएपछि बिरामी र आफन्तलाई होटलमा बस्नुपर्ने र महङ्गो पैसा तिर्नुपर्ने बाध्यताको अन्त्य हुनेछ । कुरुवा घरमा १५ वटा कोठा रहेका छन् । सबै कोठामा अट्याच बाथरुम र कमन किचनसमेत रहेको भण्डारीले जानकारी दिए ।

बिरामी र कुरुवाले निःशुल्करुपमा बिरामी कुरुवा घरको सेवा लिन सक्ने छन् । बस्नका लागि होटल नभएको खजुरामा कुरुवा घर सञ्चालनमा आएपछि टाढाका विरामीलाई सहज हुनेछ ।

सो अवसरमा क्यान्सरका विरामीका लागि आवश्यक पर्ने लिन्यास मेसिन छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन माग गरिएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार १६:१६

लोकप्रिय