सूचनाको शक्ति - The Power Of Information

        

सुवास नेम्वाङलाई मरणोपरान्त उच्चकोटीको सम्मान

संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानसाथ अन्त्येष्टि गरिएको छ ।

गणतान्त्रिक संविधान जारी गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका नेम्वाङले मरणोपरान्त पाउनुभएको सम्मान उच्चकोटीको छ । नेपाली जनताले उहाँलाई साझा नेताको रुपमा स्वीकारेका छन् ।

मंगलबार दिवंगत संविधानसभा अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानसाथ बिहीबार बिदाई गरिएको छ । नेम्वाङ्को अन्तिम बिदाईका लागि पशुपति आर्यघाटमा प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी ओलीलगायत शीर्ष नेता कार्यकर्ताको बाक्लो उपस्थिति थियो ।

स्वच्छ छवि र इमान्दार नेताको रुपमा परिचित सुवासचन्द्र नेम्वाङको जन्म २००९ मा इलामको सुन्तलाबारीमा भएको हो । माता अपिन्द्रकुमारी र पिता रामबहादुर नेम्वाङको सुपुत्रका रूपमा यस धरामा टेकेका नेम्वाङ नेपालको राजनीति र संवैधानिक क्षेत्रकै सुपरिचित व्यक्तित्व हुनुहुन्थ्यो ।

२०४८ र २०५२ मा दुई पटक राष्ट्रियसभा अध्यक्षको जिम्मेदारी सम्हालेका नेम्बाङ यसअघिको २०५६ को संसदीय निर्वाचनमा विजयी हुनुभएको थियो । कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्य प्रशासनमन्त्री र संसदको सार्वजनिक लेखा समितिको अध्यक्ष समेत रहिसक्नु भएका नेम्बाङ नेकपा एमालेको केन्द्रीय सदस्य र कानून विभाग प्रमुख समेत रहिसक्नुभएको थियो ।

त्यतिमात्र होइन, कानून व्यवसायीका रूपमा परिचित र प्राध्यापनमा समेत संलग्न नेम्वाङले नेपाल बार एसोसिएसनको महासचिवको भूमिका निर्वाह गर्नुभएको थियो ।

२०२९ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष रहेका उहाँ विद्यार्थी जीवनदेखि नै राजनीतिमा लाग्नुभएको थियो । नेम्वाङ २०३३ सालमा राजकाज मुद्दामा जेल पर्नुभएको थियो । २०६४ को संविधानसभा निर्वाचनमा इलाम जिल्ला क्षेत्र नं. २ बाट निर्वाचित भै संविधानसभाको अध्यक्षका रूपमा कार्यरत नेम्वाङ २०५१ देखि नविराई सांसद चुनिनुभएको थियो ।

नेपालको संसदीय इतिहासमा समयले नेम्वाङलाई एउटा त्यस्तो मियो प्रमाणित गर्‍यो, जसको अथक मेहनतले रुपान्तरित शासन व्यवस्थाको संविधान प्राप्तिको सुयोग दिलायो । खासगरी मूलधारको राजनीतिमा आएपछि माओवादीको क्रान्तिकारी चरित्रलाई संसदीय प्रणालीमा ढाल्न उहाँले खेलेको भूमिका स्मरणीय थियो ।

आफ्नो हातले मुलुकको संविधान लेख्ने नेपालीको सदिच्छा पूर्णता दिन नेम्बाङले अनेक आलोचना, प्रत्यालोचना खेपेर पूरा गर्नुभयो । लोकतन्त्रप्रति नेम्बाङको निष्ठाले नै त्यो उपलब्धि सम्भवभयो ।

उहाँले दिवंगत भएपछि पाउनुभएको सम्मानले जनजनले त्यो गुण मानेको प्रमाणित हुन्छ । अरुका नसुन्ने असहिष्णु राजनीति हावी भइरहँदा सबैका कुरा सुन्ने उदार हृदयका सतपात्र सुवास नेम्बाङ नेपाली राजनीतिमा ओजपूर्ण सुवास छरेर बाँचिरहने निश्चित छ ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार १८:४४

लोकप्रिय